खाताको पूरा विवरण नै नहेरी कर्मचारीले मिलोमतोमा चेक बाउन्स गरेका थिए!


काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक नवलपुर बर्दघाट शाखाका दुई कर्मचारीले केरमेट भएको ७० लाखको चेकलाई बाउन्स गराएर अदालतमा झूठा र पत्याउनै नसक्ने बयानबाजी दिने क्रममा सामान्य प्रक्रियासमेत नहेरेको प्रमाण फेला परेको छ।

७० लाखको चेक प्रकरणमा निर्दोष व्यक्तिलाई फँसाउने षडयन्त्रअनुसार खाता ‘एक्टिभ’ थियो या थिएन भन्ने नै नहेरी एक सातामा नै तीन पटकसम्म बाउन्स गरी मुद्दा प्रक्रिया बढाउन सहयोग गरेको खुलेको हो।

विनयत्रिवेणी गाउँपालिका–६ का बद्रीप्रसाद गुप्तासँग मिलेर बर्दघाट शाखाका इञ्चार्ज सुजन मरहट्ठा र प्रबन्धक गोपाल आचार्यले ७० लाख जस्तो ठूलो रकमको खाता ‘एक्टिभ’ छ या छैन भन्ने रुजु नै नगरी चेक बाउन्स गरी सुशीलकुमार बानियाँलाई फसाउन मद्दत गरेका थिए।

उक्त चेक अनादर मुद्दामा अदालतमा भएको बहसका क्रममा शाखा प्रबन्धक आचार्यले दिएको बयानले यसलाई पुष्टि गर्छ। उनले बयानका क्रममा चेक बाउन्स गर्नका लागि खाता एक्टिभ थियो या थिएन भन्ने कुरा रुजु नगरिएको बताएका थिए।

गुप्ताले सुशीलकुमार बानियाँ र सन्दिपकुमार गुप्ताविरुद्ध चेक अनादरको मुद्दा दायर गरेका थिए।

आचार्यले बयानका क्रममा चेकमा मितिमा केरमेट भएको स्वीकार गरे पनि बुझिने प्रकारको रहेका कारण अन्य प्रक्रिया अगाडि बढाउन नपरेको व्यहोराको बयान दिएका थिए।

आचार्यले बयानमा यति मात्र विरोधाभाष भनेका छैनन्। बिनिमय अधिकारपत्र ऐन, २०३४ को दफा ६६ र ६७ मा चेक अनादरको सूचना तथा सूचना दिने तरिकामा भएको उल्लिखित कानुनप्रतिकूल बयान दिएको फेला परेको छ।

त्यत्रो ७० लाख रुपैंयाको चेक बाउन्सको सूचना दिने प्रक्रिया ऐनअनुसार किन गर्नुभएन भन्ने प्रश्नमा उनले भनेका छन्,‘चेकलाई कालो सूचीमा राखेर खातावाललाई ७ दिनभित्र सूचना दिने प्रक्रिया र मान्यता हो तर चेकमा पर्याप्त मौज्दात नरहेको खातामा हरेक ग्राहकलाई सम्पर्क गरी सोको जानकारी दिने अभ्यास नसरहेको र त्यसैअनुसार गरिएको हो।’

उनको यस बयानले बिनिमय अधिकारपत्र ऐनको मात्र उल्लंघन गरेको छैन, राष्ट्र बैंकको निर्देशन र बैंकिङ क्षेत्रका सामान्य प्रक्रिया नै भंग गरिएको स्पष्ट हुन्छ।

मिलोमतोमा सुशीललाई फासाउने षडयन्त्रको अर्को पाटो पनि फेला परेको छ।

नवलपुरमा रोयलपिस होटल सञ्चालन गरेका सन्दिप र सुशीलले खाता त्रिवेणी शाखामा खोलेका थिए। तर उक्त चेकलाई त्रिवेणी शाखाले मिति केरमेट र नाममा समस्या देखेपछि हेर्नै नमिल्ने भनेपछि गुप्ताको उठबस रहेका मरहट्ठा र आचार्य रहेको बर्दघाट शाखामा बाउन्स गर्ने सहमति बन्यो।

सामान्यतया चेक बाउन्सका लागि जुन शाखामा खाता खोलिएको छ त्यसैमा जानका लागि बैंकले भन्ने गर्दछ। एक अधिकारी भन्छन्,‘जुन पायो त्यहि शाखाबाट बाउन्स गर्दा रिस्क हुने भएकाले कि केन्द्रीय कार्यालय अथवा खाता खोलिएको शाखामा नै बाउन्स गराउने चलन छ।’

तर यस्तो चलनविपरित मरहट्ठा र आचार्यले कुनै साइनो सम्बन्ध नै नभएको शाखामा चेक बाउन्स गराएका थिए। बर्दघाट शाखा त्रिवेणी भन्दा टाढा छ। कम्तिमा २६ किलोमिटर टाढा रहेको शाखा बर्दघाटमा किन पुगियो?  किन यसो गरियो? यसमा आचार्यले भनेका छन्,‘ग्राहक बर्दघाट शाखा किन आउनुभयो हामीलाई जानकारी छैन।’

तर चेक देखेपछि र ठूलो रकमको चेक बाउन्स गर्दा कम्तिमा सम्बन्धित खाता भएको शाखामा ग्राहकलाई पठाउने वा सो शाखासँग समन्वय गर्नु बैंकिङ कर्तव्य हुन्छ।

सन्दिपमार्फत सुशीललाई फँसाउनका लागि उक्त चेकको उपयोग गर्ने क्रममा बद्रिप्रसादले ठूलो योजना बुनेको स्पष्ट खुल्छ। २० फागुन २०७५ मा चेक जारी भएको भनी किर्ते गरियो र २७ फागुनमा पहिलो पटक बाउन्स गराइयो। यस्तै त्यसको तीन दिनपछि ३० फागुन र त्यसको चार दिनपछि ४ चैतमा चेक तीन पटक बाउन्स गरियो।

कुनै पनि बैंकले व्यवाहारिक रुपमा एक सातामा तीन पटक चेक बाउन्स गर्दैन। कम्तिमा हप्तामा एक पटकका दरले बाउन्स गर्न तीन हप्तासम्म समय लाग्ने गर्छ। तर बर्दघाट शाखाले एक हप्तामा नै तीन पटक चेक बाउन्स गरिदियो।

विनिमय अधिकार पत्र ऐन २०३४ को दफा ६७का अनुसार वादीले प्रतिवादीलाई चेक अनादर भएको सूचना दिनुपर्छ। बैंकले कानुनअनुसार चेक अनादर भएको भनी सम्बन्धित खातावालालाई सूचना दिनुपर्छ। सुशीललाई उक्त सूचना समेत दिइएको छैन। अदालतकै मान्यता छ,‘फिराद कथनअनुसार मात्रै चेक अनादर भयो भन्न मिल्दैन।’

यसप्रकरणलाई कसरी अगाडि बढाईको थियो? तलको लिंकमा क्लिक गर्नुहोस्

राष्ट्रिय वाणिज्य बैंकले ‘हुप्ता’लाई गुप्ता प्रमाणिकरण गरी यसरी फँसायो निर्दोष व्यक्ति

प्रतिक्रिया