राष्ट्रिय वाणिज्य बैंकले ‘हुप्ता’लाई गुप्ता प्रमाणिकरण गरी यसरी फँसायो निर्दोष व्यक्ति

केरमेट भएको ७० लाखको चेकलाई बाउन्स गराएर अदालतमा कर्मचारीका झूठा र पत्याउनै नसक्ने बयानबाजीको नालीबेली


काठमाडौं– राष्ट्रिय वाणिज्य बैंक नवलपुर बर्दघाटका दुई जना कर्मचारीको मिलोमतोमा एउटा ७० लाखको चेक प्रकरणमा निर्दोष व्यक्तिलाई फँसाउने षडयन्त्रको खुलासा भएको छ।

सो चेकमा रहेको ७० लाख बाँडफाँट गर्ने सहमतिका आधारमा उक्त प्रकरण जिल्ला अदालत नवलपुर पुग्यो।  त्यहाँ बैंकका कर्मचारीले झूठो बयान दिँदा चेक जारी गर्ने व्यक्तिको आपसी स्वार्थमा एक जनालाई मात्र मर्का पार्ने आदेश जारी गर्न लगाइएको व्यवाहारिक विवरणले पुष्टि गर्छ।

विनयत्रिवेणी गाउँपालिका–६ का बद्रीप्रसाद गुप्ताले चेक अनादरको मुद्दा अदालतमा दर्ता गराए र सेटिङकै आधारमा आदेश गराउन लगाए। यो सेटिङमा बैंकका बर्दघाट शाखाका इञ्चार्ज सुजन मरहट्ठा र प्रबन्धक गोपाल आचार्यले अदालतमा दिएको पत्याउनै नसक्ने बकपत्रले पुष्टि गर्छ।

गुप्ताले सुशीलकुमार बानियाँ र सन्दिपकुमार गुप्ताविरुद्ध चेक अनादरको मुद्दा दायर गरेका थिए। रोचक पक्षक के छ भने सन्दिप गुप्ता बद्रीप्रसादका छोरा पनि हुन्।

यस प्रकरणको नालीबेली र पृष्ठभूमी

सन्दिप र सुशीलले केही बर्षअघिसम्म संयुक्त रुपमा नवलपुरमा रोयलपिस होटल सञ्चालन गरेका थिए। सोही होटलको कारोबारका सन्दर्भमा सुशील र सन्दिपको संयुक्त हस्ताक्षर रहेको राष्ट्रिय वाणिज्य बैंकको चेक एउटा प्रयोजनका लागि लेख्ने क्रममा मिति लेख्दा त्रुटी भयो र यत्तिकै छाडियो। पार्टनर पनि भएका कारण बिग्रिएको चेकलाई बेवास्ता गर्दै सुशीलले अर्को चेकमा रकम भर्ने भए तर बिग्रिएको चेक च्यातेनन्। सोही चेक सन्दिपले जोहो गरेर राखेका थिए जसका कारण सुशीललाई फँसाउन सकियोस्।

दुवैको पार्टनरसीपमा रहेको कारोबारबाट छुट्टिए। त्यसपछि सन्दिपमार्फत सुशीललाई फँसाउनका लागि उक्त चेकको उपयोग गरियो। २० फागुन २०७५ मा चेक जारी भएको भनी किर्ते गरियो, किर्ते गर्ने क्रममा नाम नलेखिएको ठाउँमा सन्दिपले आफ्ना बाबु बद्रिप्रसाद गुप्ताको नाम लेखिदिए। त्रास र संकोचकाबीच चेकबाहकको नाम पनि विरोधाभाष हुनेगरी लेखियो, बद्रीप्रसाद हुप्ता।  र , २७ फागुनमा पहिलो पटक बाउन्स गराइयो। यस्तै त्यसको तीन दिनपछि ३० फागुन र त्यसको चार दिनपछि ४ चैतमा चेक तीन पटक बाउन्स गरियो।

बैंकका कर्मचारीको मिलोमतो यहाँनेर पुष्टि हुन्छ। कुनै पनि बैंकले व्यवाहारिक रुपमा एक सातामा तीन पटक चेक बाउन्स गर्दैन। कम्तिमा हप्तामा एक पटकका दरले बाउन्स गर्न तीन हप्तासम्म समय लाग्ने गर्छ। तर बर्दघाट शाखाले एक हप्तामा नै तीन पटक चेक बाउन्स गरिदियो।

अब यहाँ प्रस्तुत गरिएको यहि चेकका विषयमा उल्लेख गरौं।

सामान्यतया चेकमा केरमेट भएको खण्डमा त्यसलाई जारी गर्नेको हस्ताक्षर सोही ठाउँमा हुनुपर्ने हो। तर जहाँ मितिमा केरमेट छ त्यहाँ चेक जारी गर्नेको हस्ताक्षर छैन, सच्याइएको उल्लेख छैन। बकपत्रमा बैंकका इञ्चार्ज मरहट्ठा र प्रबन्धक आचार्यले काइते बयान दिएका छन्। उनीहरूले भनेका छन्,‘यो मिति बैंकभित्रै सच्याइएको भएकाले हामीले इश्यु गरेका थियौं। तैपनि मिति उल्लेख गर्न भनिएको बक्साभित्र परेका कारण यो बुझिने प्रकारको छ। पहिला गते महिना र साल हुने भएकाले चेक मान्य भयो।’

बैंकले सामान्य चिजलाई पनि दखल अन्दाजी गर्दैन। अझ सरकारी बैंकले त स–साना विषयलाई पनि महत्वका साथ हेर्छ। मिलोमतोको दोस्रो कुरा, मुद्दा हाल्नेको नाम बद्रीप्रसाद गुप्ता हो। तर, यहिँ चेकमा बद्रीप्रसाद हुप्ता लेखिएको छ। यसमा बैंकका दुवैको भनाई छ,‘नामथरको अगाडि क्यापिटल लेटर हुने भएकाले त्यो ‘जी’ मान्यौं।’

अर्कोचाहिँ चेक अनादरको मुद्दा जसलाई लगाइएको छ उसलाई त्यसबारेको पूर्वसूचना हुनुपर्छ। तर, सुशीललाई त्यस्तो कुनै जानकारीसमेत नदिई अदालतमा मुद्दा हालियो।

विनिमय अधिकार पत्र ऐन २०३४ को दफा ६७का अनुसार वादीले प्रतिवादीलाई चेक अनादर भएको सूचना दिनुपर्छ। बैंकले कानुनअनुसार चेक अनादर भएको भनी सम्बन्धित खातावालालाई सूचना दिनुपर्छ। सुशीललाई उक्त सूचना समेत दिइएको छैन। अदालतकै मान्यता छ,‘फिराद कथनअनुसार मात्रै चेक अनादर भयो भन्न मिल्दैन।’

अर्कोचाहिँ विनिमय अधिकार ऐन २०३४ को दफा १५ ड्रअरको दायित्व, दफा ४७ ड्रअरमाथि दाबी गर्दा चेक प्रस्तुत गर्नुपर्ने, दफा ५३ भुक्तानी, दफा ६६ अनादरको सूचना, दफा ६७ अनादरको सूचना दिने तरिका, दफा ७० अनादरको सूचना दिनु नपर्ने अवस्था, दफा ७१ अनादर भएको व्यहोरा नोटरी पब्लिक गराउने, दफा ७२ अनादर गरेको व्यहोरा प्रमाणित गर्दा समावेश हुने कुराहरु, दफा ७६ अनुसार स्वीकार गरी अनादर गरेका भुक्तानी नदिएको भनी प्रमाणित गराउनुपर्ने हुन्छ।

गुप्ताको हकमा न वादीले न बैंकले नै यी प्रक्रिया पूरा गरेको पाइन्छ।

को हुन् गुप्ता के हो फन्डा?

विनयत्रिवेणी गाउँपालिका–६ का बद्रीप्रसाद गुप्ता नेपाली कांग्रेसमा छन्। उनी कांग्रेसमा रहेको र उपल्लो तहसम्म आफ्नो पहुँच रहेको भनी सर्वसाधारणलाई आर्थिक रुपमा सकस दिने व्यक्ति रहेको स्थानीय बताउँछन्।

नाम नखुलाउने शर्तमा स्थानीय भन्छन्,‘कांग्रेसको धाक लगाउने र मिटरब्याजमा समेत पैसा लगानी गर्दै आएका छन्। गुप्ताका अनेक आर्थिक कथा छन्।’

चेकमा ७० लाखको दाबी गरिए पनि गुप्ताले ३५ लाखका लागि यो फन्डा तयार पारेका हुन्। आफ्नो छोरा समेतलाई मुद्दा हाल्नुअघि उनले नाटकीय रुपमा अंशबन्डा गरिदिए। छोरासहितको भागबाट प्रतिशतका हिसाबले रकम असुल भए कम्तिमा सुशीलको तर्फबाट आउने रकम उपयोग गर्ने उनको तयारीअनुसार अदालतमा मुद्दा पुगेको थियो।

राष्ट्र बैंकका उच्च अधिकारीका अनुसार कुनै पनि चेक केरमेट भएको खण्डमा त्यसलाई अन्य बैंकले खोजीनीति गर्नु नै पर्छ। सबै रिट पुराएका आधारमा नै चेक इश्यु गर्न सकिन्छ। ‘मलाई यस्तो लाग्यो र त्यहि नै सहि थियो भन्ने अधिकार कुनै पनि बैंक कर्मचारीलाई हुँदैन, जे जति नियम छन् ति सबै पालना भएको हुनुपर्छ’, उच्च अधिकारीले भने।

प्रतिक्रिया