दाङमा आजदेखी निषेधाज्ञा लागू, सरकारी कार्यालय र बैंकसमेत बन्द


घोराही – दाङमा आजदेखि निषेधाज्ञा लागू भएको छ । आज विहान ६ बजेदेखि वैशाख २५ गते साँझ ६ बजसेसम्म दाङ जिल्लाभरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

दाङ जिल्लामा पनि कोरोना संक्रमितको संख्या र मृत्युदर बढिरहेकाले निषेधाज्ञा अवधिभर अतिआवश्यकीय बाहेकका सेवाहरु पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख गणेश चन्दले बताए । दाङमा सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गरिएको उनले जानकारी दिए ।

अतिआवश्यकीय सामान खरिदबिक्रीका लागि प्रत्येक दिन बिहान ७ बजेदेखि ८ बजेसम्म पसलहरु खुला गर्न पाइने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

अति आवश्यकीय सामान ढुवानी गर्न गाडीको प्रयोग गर्नु पर्ने भएमा पनि जिल्ला प्रशासन कार्यालय दाङबाट अनुमति लिनुपर्ने छ । खानेपानी, दूध, तरकारी, इन्धन, औषधि, विद्युत आपूर्ति, टेलिफोन, फोहोरमैला व्यवस्थापन र पुशपन्छीको दानासँग सम्बन्धी कामलाई अतिआवश्यकीय सेवा अन्तर्गत राखिएको छ ।

पूर्वपश्चिम राजमार्ग भएर दाङ हुँदै गुड्ने गाडीहरुलाई यात्रु उठाउन र झार्न निषेध गरिएको छ ।

जिल्लामा रहेका सम्पूर्ण विद्यालय एवम् कलेजहरुको पठनपाठन र विद्यालयको परीक्षा पूर्णरुपमा बन्द गरेर अनलाइन कलास सन्चालन गर्न पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया