

काेराेना र निषेधाज्ञाकाे मार, दुई दिनमै दुई लाख बढिले छाडे उपत्यका

काठमाडौं – आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ । दुई दिनअघि नै निषेधाज्ञा घोषणा भएपछि धेरैले काठमाडौं उपत्यका छाडेका छन् ।
मंगलबार र बुधबारसम्म कम्तीमा पनि दुई लाखले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उपत्यकाबाट निस्किने सवारीसाधन बढेपछि बिहीबार बिहानसम्म पनि नागढुङ्गामा जाम छ । जाम हटाउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईसमेत खटिएका छन् ।
केही सवारीसाधन पनि बिग्रिएका कारणले जाम भएको उनले बताए । नागढुङ्गामा भएको जाम एक घन्टामा हट्ने उनले बताए । त्यसैगरी, काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्न ठाउँठाउँमा ट्राफिक प्रहरी तथा प्रहरी खटिएका छन् ।
उपत्यकामा महाशाखाबाट १४ सय प्रहरी चेकिङका लागि खटाइएको बताइएको छ । अनावश्यक बाहिर निस्किएका दुई सय बढी सवारी साधनलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । त्यस्ता सवारीसाधनलाई ट्राफिक प्रहरीले होल्डमा राख्ने गरेको छ ।

