अस्ट्रेलियामा एनआरएनका नाममा गुन्डागर्दीः भुरभुरे काण्डका मुखिया को हुन्?


काठमाडौं– प्रवासमा छिरेको नेपाली राजनीतिसँगै गुन्डागर्दीले पनि जरो गाड्न थालेका विवरण आउन थालेका छन्। यसै क्रममा शनिबार रकडेलमा रहेको ‘भुरभुरे मम’ एन्ड थाई रेस्टुरेन्टमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को विवादका क्रममा सरोज पाण्डेमाथि आक्रमण भएको छ।

अस्ट्रेलियामा नजिकिएको एनआरएनए चुनावसँगै विभिन्न सहरमा देशभरका नेताको कार्यक्रम हुने क्रममा रकडेलमा पनि भएको थियो। सोही क्रममा पाण्डेसँग एनआरएनएको विषयमा विवाद हुँदा विवेक थापाको पक्षमा रहेका तीन जनाले पाण्डेमाथि आक्रमण गरेका थिए।

एनआरएनएका कतिपय नेता भने यो क्रममा मुकदर्शक मात्र बनेका छन्। प्रदिप पाठक, इथान शाक्य र समीरमानसिंह बस्नेतलगायतको समूहले पाण्डेमाथि रेष्टुरेन्टमा नै आक्रमण गरेका थिए। थापाको इशारामा भएको उक्त आक्रमणमा परी पाण्डेको अनुहारमा चोट लागेको छ।

प्रत्यक्षदर्शीका अनुसार थापासँग एनआरएनको चुनावका विषयमा कुराकानी हुने क्रममा विवाद भएको थियो। सोही बेला उनको इशारामा शाक्य, बस्नेतलगायतको समूहले आक्रमण गरी पाण्डेलाई घाइते बनाएका हुन्।

५ बर्ष पहिला पनि यो समूहले यसरी नै अस्ट्रेलियामा रहेका नेपालीमाथि आक्रमण गर्दै आएको जानकारहरू बताउँछन्। पिट्ने धम्क्याउने, हप्ता उठाउने काममा यो समूह सक्रिय रहेको बताइन्छ।

थापाको समूहले आक्रमण गर्दा उक्त स्थानमा एनआरएनए अस्ट्रेलिया पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल,  दिनेश जोशी, डा. भरतराज पौडेल, केशव कँडेल, कञ्चन पोखरेल, क्यानबेराका आदर्शजंग पाण्डे, अशोक थपलिया मुकदर्शक बनेका थिए।

यसैगरी एनआरएनए प्रवक्ता नन्द गुरुङ, ब्रिसबेनका जनसम्पर्क समितिका अच्युत अधिकारी, सूर्य खनाल, ह्यारी अधिकारी, प्रज्वल भट्टराई मुकदर्शक बनेका थिए।

थापा नेपाल डेमोक्रेटिक फोरम बनाएर अस्ट्रेलियामा सक्रिय रहेको बताइन्छ। घटनाका सन्दर्भमा थापाले अदालतले निर्णय गर्ने बताए पनि लामो कुराकानी गर्न मानेनन्।

यसैबीच घटनामा मानवीय क्षती नभए पनि भुरभुरे रेष्टुरेन्टमा भौतिक क्षती भएको थियो। आक्रमणकारीले होटलका प्लेटलगायतको प्रयोग गरेका थिए। ‘यो थाई रेस्टुरेन्ट हो। उक्त प्रकरणले मेरा थाई स्टाफले जागिर छाडिदिए त्यसको असर परेको छ’, रेष्टुरेन्ट सञ्चालक महेश प्रसाई (म्याक्स बाबु)ले भने।

प्रतिक्रिया