कास्कीमा भोलीदेखि निषेधाज्ञा, सवारी साधनमा जोड विजोर प्रणाली लागू


पोखरा – जिल्ला प्रशासन कार्यालय, कास्कीले भोली (बुधबार)देखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । सोमबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

‘कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि निषेधाज्ञा नै जारी गर्नुपर्ने अवस्था सिर्जना भएको कास्कीका सिडिओ थानेश्वर गौतमले बताएका छन् ।
गण्डकीमा मात्र पछिल्लो हप्ताबाट दोब्बरको संख्यामा कोरोना संक्रमण वृद्धि भएको छ । गण्डकी प्रदेशमा अहिले ९ सय ३७ जना संक्रिय संक्रमित छन् ।

सरकारले ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । अत्यावश्यक सेवा बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जोडबिजोर लागू गरिएको छ । जोर गते जोर नम्बर र विजोर गते बिजोर नम्बरको सवारी चलाउनुपर्नेछ ।

सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटपाथ सेवा तथा स्थानहरु बन्द हुनेछन् । दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ । अरु पसल, डिपार्टमेन्ट स्टोर सपिङ मल बन्द हुनेछन् ।

बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ भने होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्नेछन् ।

 

प्रतिक्रिया