ओली सरकार ढाल्दै एमसीसी पास गर्न संकल्प प्रस्ताव ल्याउने कांग्रेस–माओवादी सहमति भएको हो?


काठमाडौं– जसरी पनि केपी शर्मा ओली नेतृत्वको अहिलेको सरकार परिवर्तनका लागि जुटेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एउटा विवादीत विषयमा संकल्प प्रस्ताव ल्याउने सहमति गरेको विवरणमा आएको छ।

माओवादी केन्द्रका कतिपय नेता र एमालेकै भिम रावललगायतले तिव्र विरोध गरिरहेको अमेरिकन मिलिनियम च्यालेन्ज कर्पोरेशक (एमसीसी) सम्झौता पास गर्ने संकल्प प्रस्ताव ल्याउने लिखित सहमतिका आधारमा ओलीविरुद्ध प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव ल्याउने सहमति भएको चर्चाले नयाँ तरङ्ग ल्याएको छ।

कांग्रेस एमसीसीका पक्षमा रहेको छ भने माओवादी र एमालेको एउटा खेमाले उक्त सम्झौताको व्यापक विरोध गरिरहेका थिए। तर प्रचण्डले ओली सरकार ढाल्नकै लागि देउवासँग उक्त विषयमा सहमति गरेको विवरण सतहमा कसरी आयो?

माओवादी केन्द्रका एक जना स्थायी समिति सदस्य भन्छन्,‘त्यस्तो सहमति भएको मलाई थाहा छैन। अध्यक्षसँग बुझ्नुपर्ने हुन्छ। तर त्यो नेपालको हितमा भने हुनेछैन। ओली सरकार ढाल्ने भन्ने त माओवादीको प्रस्ताव नै छ।’

एमसीसी नेपालका लागि निक्कै घातक रहेको माओवादीका स्थायी समिति सदस्य लिलामणि पोखरेलले बताएका थिए। त्यस्तै माओवादीका प्रमुख सचेतक देव गुरुङले पनि यो विषय निक्कै भयानक रहेको बताउँदै आएका थिए।

माओवादी केन्द्रले विवरणमा आएको विषयमा भने कुनै औपचारिक प्रतिक्रिया दिइसकेको छैन। तथापी ओली सरकार गिराउनका लागि यस्ता खाले समझदारी हुन सक्ने कतिपयको अनुमान छ। ‘प्रचण्ड यसमा नकारात्मक थिएनन्, उनको सरकारका पालामा पनि यस विषयमा केही कागजी काम भएका कारण सहमति बनेको हुनसक्छ’, उच्च स्रोतले भन्यो।

त्यसो त एमाले र माओवादी एक भएका बेला एमसीसी पास गराउने पक्षमा प्रचण्डका कतिपय अभिव्यक्ति आएका थिए। तर नेताहरुको विरोधका कारण परिमार्जन गर्न सकिने भन्ने विषयबस्तुलाई अगाडि सारिएको थियो।

एमसीसीका सन्दर्भमा तत्कालिन नेकपाका नेता झलनाथ खनालको नेतृत्वको कार्यदलले एउटा सुझाव तयार पारेको थियो र उक्त सुझाव ओली र प्रचण्डले संयुक्त रुपमा बुझेका थिए।

प्रतिक्रिया