

संख्या नपुगी प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याए आफैं खाडलमा परिन्छः कांग्रेस

काठमाडौं– संख्या पुग्ने ग्यारेन्टि नभएसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव नल्याउने भएको छ।
पदाधिकारी तथा पूर्वपदाधिकारीको आइतबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको बैठकले संख्या पुराउने ग्यारेन्टिका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी तयार हुनुपर्ने निचोड निकालेको हो।
‘अविश्वासको प्रस्ताव ल्याउने कुराको नेतृत्व कांग्रेसले गर्छ तर संख्या पुग्ने ग्यारेन्टि हुनुपर्छ। प्रस्ताव ल्याउने तर त्यो फेल भयो भने त आफैं खाडलमा परिन्छ’, बैठकपछि उपसभापति विमलेन्द्र निधिले भने,‘फेरि एक बर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन नि।’
राष्ट्रिय सभा उप निर्वाचनका लागि उम्मेदवार छनौटको विषयमा सामान्य चर्चा भए पनि बैठकले निर्णय लिएको छैन। त्यसबारे पनि चाँडै निर्णय हुने बताइएको छ।

