कोरोना भाइरसको संक्रमणबाट गुल्मीमा थप एकको मृत्यु


गुल्मी – कोरोना भाइरसको संक्रमणबाट गुल्मीमा एक पुरुषको ज्यान गएको छ । गुल्मी छत्रकोटा गाउँपालिका-३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिएका छन् ।

गत बिहीबार भारतबाट घर आएका उनलाई शुक्रबार सामान्य ज्वरो आएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको थियो । शनिबार राति ९ बजेसम्म घरमा खाना खाएर बस्दासम्म सामान्य अवस्थामा रहेका उनलाई राति साढे १० बजे श्वास फेर्न गाह्रो भएको थियो । राति नै उपचारका लागि पाल्पा लैजाने तयारी गर्दागर्दै उनको अचानक घरमै ज्यान गएको बताइएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहरअन्तर्गत नयाँ प्रजातिको संक्रमणका कारण गुल्मीमा उनीसँगै दुई जनाको ज्यान गइसकेको छ । पछिल्लो समयमा गुल्मीमा ३९ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र गुल्मीले जनाएको छ । सङ्क्रमित हुनेमा २२ देखि ५५ वर्ष उमेर समूहका छन् ।

बाँकेमा कोरोनाबाट हालसम्म १८० को मृत्यु

राँझा- बाँकेमा कोरोना संक्रमणका कारण हालसम्म १८० जनाको मृत्यु भएको छ । पछिल्लोपटक आज बिहान कोहलपुर नगरपालिका-१० निवासी ३६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा बिहान २ः३० बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बितेको २४ घण्टामा बाँकेका अस्पतालमा उपचाररत पाँच महिला र तीन पुरुष गरी आठ जनाको मृत्यु भएको छ । बाँकेमा आजसम्म कोरोना भाइरस संक्रमणका कारण बाँकेका ८० र बाहिरी जिल्लाबाट उपचारका लागि अस्पतालमा आएका १०० गरी १८० जनाको मृत्यु भएको हो ।

हालसम्म मृत्यु हुनेमा बाँकेका ३३ महिला र ४७ पुरुष रहेका छन् भने बाहिरी जिल्लाबाट उपचारका लागि यहाँ आएका २५ महिला र ७५ पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेको तथ्याङ्कले देखाएको छ ।

बाँकेमा हाल दुई हजार १२८ सक्रिय संक्रमितमध्ये सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । छयासी सिकिस्त छन् भने १९८ को अवस्था सामान्य छ । तीमध्ये ८३ महिला र ९८ पुरुष गरी १८१ जनाको भेरी अस्पतालको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ ।

यसैगरी २४ महिला र ३१ पुरुष गरी ५५ जनाको शिक्षण अस्पताल कोहलपुर, छ महिला ३३ पुरुष गरी ३९ जनाको ह्वाइटहाउस आइसोलेसन र नौ पुरुषको कोहलपुर नगरपालिकाको कोभिड आइसोलेसनमा उपचार भइरहेको छ । बाँकेमा एक हजार ९८० होम आइसोलेसनमा रहेको स्रोत व्यक्ति वलीले जानकारी दिए । उनका अनुसार बाहिरी जिल्लाबाट आएका १३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया