

भारतको गुजरातमा नेपाली युवतीको सामूहिक बलात्कारपछि हत्या, तीन जना पक्राउ

काठमाडौं – भारतमा दैलेखकी २३ वर्षीया प्रतिक्षा गिरीको सामूहिक बलात्कारपछि हत्या भएको छ। भारतको गुजरात राज्यस्थित अहमदावादको दानी लिम्दा, बेहरामपुरमा मजदुरीका लागि भारत गएकी गिरीको अपहरण गरेर सामूहिक बलात्कारपछि हत्या भएको हो।
नेपाली युवतीको अपहरणपछि स्थानीय तीन युवाले लागूऔषध खुवाएर सामूहिक बलात्कारपछि हत्या गरेको भारतीय प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ।
गुजरात प्रहरीका अनुसार घटनामा राजु नाम गरेका स्थानीय युवा मुख्य आरोपी हुन्। दैलेख घर भएकी नेपाली युवती प्रतिक्षा गुजरातको अहमदावादमा पछिल्ल्लो एक वर्षदेखि रोजगारीको सिलसिलामा बसोवास गर्दै आएकी थिइन्।
घटनाको दिन बिहान घरदेखि मजदुरी गर्न निक्लिएकी उनी अर्को दिन बिहान राजु भन्ने युवाको घरमा मृत अवस्थामा भेटिएकी हुन्। हत्या गरिएकी युवतीलाई ६ वैशाख अर्थात (१९ अप्रिल) को बिहान अपहरण गरी २४ घण्टासम्म बन्धक बनाएर राखिएको र सामूहिक बलात्कार पश्चात उनको हत्या भएको प्रहरीले जनाएको छ।
प्रवासी नेपाली महिलाको हत्या भएको जानकारी पाउन साथ गुजरातका गृहमन्त्री प्रदीपसिंह जाडेजाले उक्त केस गुजरात क्राइम ब्रान्चलाई हेर्न निर्देशन दिएका छन्। गुजरात प्रहरीले केही घण्टाभित्रै घटनामा संलग्न भएको अभियोगमा राजुसहित ३ जना स्थानीय युवालाई हिरासतमा लिएको छ।
परिवारमा श्रीमानसहित २ बच्चा भएकी प्रतिक्षालाई अपहरण गरी उनलाई जबरजस्ती लागूऔषध दिएर तिनै जना युवाले सामूहिक बलात्कार गरेको अनुसन्धानमा खुुलेको छ। घटनाका बिषयमा गुजरात सरकारले सक्रियता देखाएको छ। आरोपीले हत्या गरेकोे स्वीकार गरेका छन्।

