


ताप्लेजुङमा छोराले चलाएको भरुवा बन्दुकबाट बुबाको मृत्यु

काठमाडौं – ताप्लेजुङमा भरुवा बन्दुकको प्रहारबाट एक जनाको मृत्यु भएको छ । आफ्नै छोराले बन्दुकले हान्दा बुबाको निधन भएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा २८ वर्षीय छोरा प्रताप लिम्बुले एक्कासी भरुवा बन्दुक प्रहार गर्दा ५० वर्षीय बुबा खडकबहादुर लिम्बुको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटना लगत्तै पुगेको प्रहरीले छोरा प्रतापलाई पक्राउ गरि सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक मोहन पोखरेलले बताए ।
पोखरेलका अनुसार प्रतापलाई भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाको कारण भने अझै खुलेको छैन ।
शवको कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

