सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न, उत्कृष्ट कार्यगर्ने पुरस्कृत


काठमाडौं – चैतेदशैंको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा मंगलबार सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गरेको उक्त निशान तथा मौलो पुजामा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट मौलो परिक्रमा गरिएको थियो ।

बिहान ८ बजेर ४१ मिनेटको पुजाको संकल्प साइतमा गरिएको सो पुजामा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल नेपालको निशानमा पञ्जाछाप समेत लगाएका थिए । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले चैतेदशैंको अवसरमा महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार समेत प्रदान गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी.र रामशरण पौडेल लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया