बुढानिलण्ठको गरुड क्यासिनोमा प्रहरीको छापा, क्यासिनो खेल्न प्रयोग हुने सामाग्रीसहित ११ नेपाली पक्राउ


काठमाडौं — राजधानीको बुढानीलकण्ठस्थित एक क्यासिनोबाट ११ जना पक्राउ परेका छन् । बूढानीलकण्ठस्थित गरुड क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले जुवा खेल्न प्रयोग हुने विभिन्न सामाग्रीसहित ११ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप गोकुलगंगाका बिकी लामा, सोलुखुम्बु माकालुङका नुवाङ शेर्पा, सोलुखुम्बु दुधकुण्डका पासाङ शेर्पा, सिन्धुली गोलन्जरका ज्योति मगर, दोलखा बैतेश्वरका नारायण खत्री, गोकर्णेश्वरका दिल लामा, रोशी काभ्रेका अशोक लामा, नुवाकोट दुप्चेश्वरका सञ्जय तामाङ, उमाकुण्ड रामेछापका आशिष खड्का, ललितपुरका सबिनमान श्रेष्ठ र धनकुटा जोरपाटीका सुदीप अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग बूढानीलकण्ठको संयुक्त टोलीले उक्त क्यासिनोमा छापा मार्दा जुवा खेल्न प्रयोग गरिने विभिन्न दरका क्वाइन, ९ थान मोबाइल र १० लाख ८५ हजार ६०० रूपैयाँ नगद बरामद गरिएको जनाइएको छ ।

प्रहरीले बरामद गरेका क्वाइनहरूमा ५० हजार रूपैयाँ लेखिएका ८ थान, १० हजारका १९ थान, १ हजारका ८८ थान र १०० रूपैयाँ लेखिएका ५ थान रहेका छन् । पक्राउ परेका सबैलाई जुवासम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्ला दिनमा क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने क्रम बढ्दै गइरहेको पुष्टी भएको छ । अघिल्लो साता वीरगञ्जको एक क्यासिनोबाट गाउँपालिका प्रमुख र प्रहरी इन्स्पेक्टर समातिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले उपत्यकाका क्यासिनोहरुमा निगरानी बढाएको छ ।

नेपालको कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न पूर्ण रूपमा निषेध गरिएको छ ।

प्रतिक्रिया