

अनलाइनबाट भारत र श्रीलंकाको क्यासिनोमा जुवा खेलाउने दुईजना पक्राउ

ललितपुर – भारत तथा श्रीलंकामा जुवा खेलाउने नेपाली पक्राउ परेका छन् । प्यूठानको नौवहिनी गाउँपालिका–४ घर भई ललितपुर झम्सिखेल बस्ने ३८ वर्षीय दिपक गुरुङ भन्ने डुबलाल घर्तीमगरले भारतको सिक्किम तथा गोवा र श्रीलंकाको विभिन्न क्यासिनोहरुमा जुवा खेलाउने थाहा हुन आएकोले पक्राउ परेका हुन् ।
अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले डुबलाल घर्तीमगरसँगै सोही ठाउँका २० वर्षीय सुनिल पुनमगरलाई पनि पक्राउ गरेको छ । दिपक गुरुङ भन्ने डुबलाल घर्तीमगरले श्रीलकंन वेलिजबेट क्यासिनो अन्तर्गत नेपालमा एजेन्टको रुपमा काम गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
डुबलाललाई नक्साल नागपोखरीबाट र सुनिललाई ललितपुरको इमाडोलबाट पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका उनीहरुको साथबाट ल्यापटप, मोबाइल, भारतीय आधारका कार्ड र ८ लाख नगद समेत बरामद गरिएको छ ।
लकडाउनको समयमा डुबलाल र सुनिलले विभिन्न प्रलोभन देखाएर अनलाइनमार्फत जुवा खेलाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घर्तीमगर श्रीलकंन वेलिजबेट क्यासिनो अन्तर्गत नेपालमा एजेन्टको रुपमा रहेको, भारतको सिक्किम तथा गोवामा रहेको विभिन्न क्यासिनोहरुमा जुवा खेलाउने गरेको र उनको नाममा भारत सरकार आयकर विभागको स्थायी लेखा कार्ड र आधार कार्ड समेत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनीहरुविरुद्ध मोबाइलमार्फत अनलाइन जुवा खेलाई क्रिकेटको सट्टेबाजी गरी ठगी गरेको सम्बन्धमा अनुसन्धान गरी कानुनी कारबाही गर्न भन्दै सात जनाले प्रहरीमा जाहेरी दिएका थिए । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

