
सांसद राईको प्रश्न- सुस्तामा एसएसबीको गतिविधिबारे सरकार किन मौन ?
काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानमन्त्री संसदमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनुपर्ने माग दोहोर्याएका छन्। प्रधानमन्त्रीसँग जवाफ माग गरिएको ११ दिन बितिसक्दा पनि उहाँ संसदमा उपस्थित नभएको भन्दै उनले असन्तुष्टि जनाए।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष धारणा राख्दै सांसद राईले सीमा सुरक्षासँग सम्बन्धित विषयमा सरकारको स्पष्ट धारणा आउनुपर्ने बताएका हुन्। उनले हाल नेपाल सरकारका रक्षामन्त्री को हुन् भन्ने प्रश्न गर्दै सम्बन्धित मन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखमार्फत आग्रह गरे।
राईले नवलपरासीस्थित सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का सदस्यहरू पुगेको र स्थानीय नेपाली नागरिकमाथि हप्कीदप्की गरेको भन्दै विभिन्न भिडियो तथा सामग्री सार्वजनिक भइरहेका उल्लेख गरे। त्यस्तो अवस्थामा नेपाली नागरिकहरू आफ्नै भूमिको सुरक्षाका लागि निहत्था रूपमा प्रतिरोध गर्न बाध्य भएको उनको भनाइ थियो।
“प्रधानमन्त्री त संसदमा आउनुहुन्न, कम्तीमा रक्षामन्त्री भए पनि खोजेर ल्याइदिनुपर्यो, हामी यहाँ प्रश्न गर्न चाहन्छौँ,” उनले संसदमा भने।
सांसद राईले नेपाली सेना सीमा क्षेत्रमा परिचालन नहुनुको कारणबारे पनि सरकारसँग जवाफ माग गरे। “हाम्रो नेपाली सेना के कसम खाएर सीमामा जानै नहुने गरी बसेको हो ?” भन्दै उनले सीमा सुरक्षाको विषयमा सरकारको नीति र व्यवहारमाथि प्रश्न उठाए।
उनले नेपाली सेनाले सीमा क्षेत्रको अवलोकन वा निगरानी समेत गर्न नपाउने कुनै प्रकारको सन्धि वा सम्झौता नेपाल सरकारले गरेको हो भने त्यसबारे संसदलाई जानकारी गराउनुपर्ने बताए। “यदि त्यस्तो कुनै करार वा सन्धि छ भने संसदमा देखाइदिनुपर्यो,” उनले भने।
खुला सीमाको कारण नेपाली भूमि पटक–पटक अतिक्रमणको जोखिममा पर्ने गरेको दाबी गर्दै राईले सीमा सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न नसक्नुको कारण स्पष्ट पार्न सरकारलाई आग्रह गरे।
संसद बैठकमा गृहमन्त्री समेत उपस्थित रहेको उल्लेख गर्दै उनले आवश्यक परे विशेष समय लिएर भए पनि सुस्ता घटनाबारे सरकारको आधिकारिक धारणा र जवाफ संसदमा प्रस्तुत गर्नुपर्ने माग गरे।



कागजपत्र |
