रौतहटमा ७० वर्षीया वृद्धा खेतमा मृत फेला, हत्या भएको आशंका


रौतहट- रौतहटको परोहा नगरपालिका–७ नरकटिया गाउँकी एक वृद्धा महिला मृत अवस्थामा फेला परेकी छन्। घटनापछि स्थानीयवासीले उनको हत्या गरिएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार स्थानीय दीपनारायण पटेलकी ७० वर्षीया श्रीमती लखपतिया देवी शुक्रबार बिहान खेतबारी हेर्न घरबाट निस्किएकी थिइन्। केही समयपछि गाउँनजिकै रहेको कुलो छेउको खेतमा उनको शव फेला परेको हो।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासीले वृद्धाको सुनका गहना लुटपाट गरी घाँटी थिचेर हत्या गरिएको हुनसक्ने आशंका गरेका छन्। घटनाको खबर गाउँभर फैलिनासाथ स्थानीयमा शोक छाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी वसन्त गौतमका अनुसार मृतकको नाकबाट रगत बगेको देखिएको छ। यद्यपि शरीरमा अन्य कुनै स्पष्ट चोटपटक भने फेला परेको छैन।

“स्थानीयबाट मृतकले लगाएको सुनको नाकको फुली नाकमा नरहेको भन्ने जानकारी आएको छ। घटनाका सबै पक्षलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेका छौँ,” डिएसपी गौतमले बताए।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ।

“शव परीक्षणको रिपोर्ट प्राप्त भएपछि घटनाबारे थप स्पष्ट हुनेछ। अहिले नै हत्या, लुटपाट वा अन्य कुनै कारणले मृत्यु भएको हो भनेर निष्कर्ष निकाल्न सकिने अवस्था छैन,” प्रवक्ता गौतमले बताए।

प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ। पोस्टमार्टम रिपोर्ट र अनुसन्धानको निष्कर्षपछि मात्रै वृद्धाको मृत्युको वास्तविक कारण सार्वजनिक हुने बताइएको छ।

प्रतिक्रिया