गौशालामा यौनधन्दा सञ्चालन गरेको आरोपमा १६ जना नियन्त्रणमा


काठमाडौं – सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी कार र ट्याक्सी प्रयोग गरेर यौनधन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

प्रहरी वृत्त गौशालाको टोलीले विशेष अपरेशन सञ्चालन गर्दै चार पुरुष र यौन क्रियाकलापमा संलग्न रहेको आरोप लागेका १२ युवतीलाई नियन्त्रणमा लिएको हो। उनीहरू गौशाला क्षेत्रमा अवैध रूपमा यौनधन्दा सञ्चालन गरिरहेको सूचनाका आधारमा पक्राउ परेका प्रहरीले जनाएको छ।

पक्राउ पर्ने पुरुषहरूमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ का ३४ वर्षीय सुनिल तामाङ, मकवानपुरको बकैया गाउँपालिका–८ का २८ वर्षीय विवेक स्याङ्तान, काठमाडौं–९ शम्भुमार्गका राजकुमार गौतम र मकवानपुरको मनहरी गाउँपालिका–२ का ३३ वर्षीय विकास भुलन रहेका छन्। उनीहरूसँगै यौनधन्दामा संलग्न रहेको आरोपमा १२ युवतीलाई पनि नियन्त्रणमा लिइएको छ।

प्रहरीले उनीहरूबाट युवती ओसारपसारमा प्रयोग भएको बीएसी ०८९० नम्बरको मारुती सुजुकी कार र बा २ ज २३२७ नम्बरको ट्याक्सी समेत नियन्त्रणमा लिएको छ।

अनुसन्धानका क्रममा उक्त समूहले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत ग्राहक खोज्ने गरेको खुलेको प्रहरीले जनाएको छ। ग्राहकसँग रकम र अन्य सर्तमा सहमति भएपछि उनीहरूले भनेको स्थान वा होटलमा युवती पुर्‍याउने गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत युवतीहरूको तस्वीर तथा भिडियो ग्राहकलाई पठाइन्थ्यो। त्यसपछि रकमको बार्गेनिङ गरी सहमति जुटेपछि कार वा ट्याक्सीमार्फत युवतीहरूलाई ग्राहकसम्म पुर्‍याउने गरिएको थियो। विशेषगरी गौशाला क्षेत्रका होटलहरूमा यस्तो गतिविधि बढी हुने गरेको अनुसन्धानबाट खुलेको छ।

 

प्रतिक्रिया