सशस्त्रका १४ डीआईजीको सरूवा र पदस्थापन, को-कहाँ पुगे ?


काठमाडाैं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ७ जना नायव महानिरीक्षक (डीआईजी) को सरुवा र अन्य ७ जना नयाँ डीआईजीको पदस्थापन गरेको छ।

मन्त्रालयको निर्णयअनुसार नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा विष्णुप्रसाद भट्ट, नम्बर ५ विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा दीपक अधिकारी तथा नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कृष्णराज पाठकको सरुवा भएको छ।

त्यसैगरी दीपेन्द्र शाहलाई इन्टेलिजेन्स ब्युरो, कृष्ण ढकाललाई कार्य विभाग, दीपेन्द्र कुँवरलाई मानवस्रोत विभाग र सुरेशकुमार श्रेष्ठलाई सीमा सुरक्षा विभागको जिम्मेवारी तोकिएको छ।

यसैगरी गत वैशाख १२ गते डीआईजी पदमा बढुवा सिफारिस भएका नयाँ अधिकृतहरूको पनि पदस्थापन गरिएको छ। नयाँ पदस्थापन गरिएका डीआईजीहरूमध्ये निमित्त बाहिनीपतिका रूपमा कार्यरत दिग्विजय सुवेदीलाई सोही स्थान अर्थात् नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा पदस्थापन गरिएको छ।

अन्य नयाँ डीआईजीहरूमा किरण बस्नेतलाई नम्बर ३ गढिमाई बाहिनी मकवानपुर, माधवप्रसाद पौडेललाई नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं र प्रवीण कँडेललाई नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की पठाइएको छ।

त्यस्तै राजेश उप्रेतीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्कीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय र राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापन गरिएको छ।

प्रतिक्रिया