

पार्टी ह्वीप उल्लंघन गर्ने कर्णालीका ४ एमाले सांसद निश्कासित

काठमाडौ – कर्णाली प्रदेश नेकपा एमाले संसदीय दलको बैठकले पार्टी ह्वीप उल्लंघन गर्ने चार जना सांसदलाई कारवाहीका लागि सिफारिस गरेको छ ।
शुक्रबार साँझ बसेको बैठकले उनीहरु चारै जनाको सांसद पद निलम्बन गर्ने तथा पार्टीको साधारण सदस्यता समेत खारेज गर्ने निर्णय गरेको हो ।
कारवाहीमा पर्नेमा प्रत्यक्ष निर्वाचित सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही छन् । उनीहरुले संसदमा ‘फ्लोर क्रस’ गर्दै कर्णाली प्रदेश सरकारलाई विश्वासको मत दिएका थिए । चारैजनालाई सांसद र साधारण सदस्यता खारेजीका लागि केन्द्रलाई सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।
यस्तै बैठकले सांसद देवी ओलीलाई २४ घन्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ । उनले सुरुमा बिश्वासको मतका पक्षमा मतदान गरेकी थिइन् ।

