

केन्द्रीय निर्देशनमा नै ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई मत दिएका हौंः प्रकाश ज्वाला

काठमाडौं – पार्टीको ह्वीप विपरित गएर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मत दिएका नेकपा एमालेका सांसद सांसद प्रकाश ज्वालाले पार्टी केन्द्रीय नेताको निर्देशनमा ‘फ्लोर क्रस’ गरेको बताएका छन् ।
शुक्रबार कर्णाली प्रदेशसभामा ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका ज्वालाले माधव नेपाल समूहलाई नै खास एमाले भएको रूपमा चित्रण गर्दै केन्द्रीय नेताको निर्देशन पालना गरेको बताए।
पार्टीले जे कारवाही गरेपनि भोग्न तयार रहेको बताउँदै पार्टी कब्जा गर्ने सोच भएका नेतृत्व कुनै पनि हालतमा पराजित हुनुपर्ने ज्वालाको भनाइ छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै ज्वालाले पार्टीलाई एकताबद्ध नगरी कुनै अर्थ नहुने भन्दै त्यही सन्देश प्रवाह गर्न पनि शाहीलाई मत दिएको बताए ।
मुख्यमन्त्री शाहीले विश्वासको मत माग्दा एमालेका सांसदहरु ज्वालासहित कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै पक्षमा मतदान गरेका थिए ।

