वैशाखमा देशभरबाट २ हजार ३१९ फरार प्रतिवादी पक्राउ


काठमाडौं – नेपाल प्रहरीले गत वैशाख महिनामा देशका विभिन्न स्थानबाट विभिन्न मुद्दामा फरार रहेका दुई हजार ३१९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नेमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट १२, काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ३६६, कोशी प्रदेशबाट ३२६, मधेस प्रदेशबाट ७३०, बागमती प्रदेशबाट १९९, गण्डकीबाट २०४, लुम्बिनीबाट ३३०, कर्णालीबाट ६८ तथा सुदूरपश्चिमबाट ८४ जना रहेका छन् ।

प्रहरीका अनुसार उक्त अवधिमा पक्राउ परेका प्रतिवादीमाथि अदालतबाट तोकिएको कुल ८२५ वर्ष दुई महिना २५ दिन कैद सजाय कार्यान्वयन गरिएको छ । साथै उनीहरूबाट २१ करोड ५३ लाख ६९ हजार ११० रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले कर्तव्य ज्यान, लागुऔषध, जबर्जस्ती करणी, बैंकिङ कसुर, ठगीलगायत विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न विशेष अभियान सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया