
मूल्य समायोजन नहुँदा क्यान्सरकाे औषधि आयात ठप्प, अस्पतालमा अभाव
काठमाडौं- क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक किमोथेरापी औषधि ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ को देशव्यापी अभाव भएपछि उपचार सेवा प्रभावित भएको छ । चिकित्सकहरूले यी जीवनरक्षक औषधि अभावले हजारौँ क्यान्सर बिरामीको जीवन जोखिममा परेको बताएका छन् ।
वीर अस्पतालकी क्यान्सर रोग विशेषज्ञ डा. सन्धा चापागाईंका अनुसार यी औषधि अधिकांश प्रकारका क्यान्सर उपचारमा प्रयोग हुने अनिवार्य औषधि हुन् र यसको प्रभावकारी विकल्प छैन ।
उनले भनिन्, “यी औषधि क्यान्सर निको पार्ने उद्देश्यले गरिने उपचारमा अत्यन्त महत्वपूर्ण छन् । समयमै उपलब्ध नभए बिरामीको रोग तीव्र रूपमा फैलिन सक्छ ।”
वीर अस्पतालमा मात्रै दैनिक करिब ४५ जना बिरामीलाई यी औषधि आवश्यक पर्ने बताइएको छ । पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीका अनुसार क्यान्सरका ६० प्रतिशतभन्दा बढी बिरामीलाई ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ आवश्यक पर्छ ।
उनले फोक्सो, अण्डासय, पेट, स्तन तथा आन्द्रासम्बन्धी विभिन्न क्यान्सर उपचारमा प्लाटिनम समूहका यी औषधि अनिवार्य जस्तै प्रयोग हुने बताए ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. उज्ज्वल चालिसेले यी औषधि दशकौँदेखि प्रयोगमा रहेका प्रभावकारी र तुलनात्मक रूपमा सस्ता औषधि भएको उल्लेख गर्दै अभावले उपचार प्रणालीमै गम्भीर असर पर्ने चेतावनी दिए ।
उनका अनुसार क्यान्सरको किमोथेरापी दुई वा तीन प्रकारका औषधिको संयोजनमा गरिने भएकाले प्लाटिनम समूहका औषधि नहुँदा धेरै बिरामीको उपचार रोकिने अवस्था आउँछ ।
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समस्या समाधानका लागि पहल थालेको छ । स्वास्थ्य सचिव डा. विकास देवकोटाले औषधि व्यवस्था विभाग र औषधि आयातकर्ता संघसँग छलफल भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार औषधि अभावको विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको छ र नीतिगत अवरोध हटाएर आपूर्ति सहज बनाउने प्रयास भइरहेको छ ।
औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यका अनुसार यी औषधि २०७२ सालदेखि सरकारी मूल्य नियन्त्रण सूचीमा छन् । तर त्यसयता मूल्य समायोजन नभएकाले आयातकर्ताले औषधि ल्याउन कठिन भएको छ ।
उनले अन्तर्राष्ट्रिय बजारमा औषधि उत्पादनमा प्रयोग हुने सिल्भर लगायत कच्चा पदार्थको मूल्य धेरै बढेको तर नेपालमा पुरानै मूल्य कायम रहेकाले आपूर्ति प्रभावित भएको बताए ।
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरणसुन्दर बज्राचार्यले पनि विश्व बजारमा मूल्य बढेपछि पुरानै सरकारी मूल्यमा औषधि आयात गर्न नसकिएको स्वीकार गरेका छन् । विभागले मूल्य समायोजनका लागि स्वास्थ्य मन्त्रालयमा प्रस्ताव पठाइसकेको जनाएको छ ।



कागजपत्र |
