
सरकारी अस्पतालमा करोडौंका उपकरण थन्किए
काठमाडौं – सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा रहेको पाइएको छ। दक्ष जनशक्ति अभाव, सञ्चालन व्यवस्थापनको कमजोरी र प्रभावकारी अनुगमन नहुँदा उपकरण वर्षौंदेखि थन्किएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको हो।
प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन २०७२ सालदेखि नै प्रयोगमा आउन सकेको छैन। त्यस्तै २४ करोड ७७ लाख ९ हजार रुपैयाँका सीटी स्क्यान प्रणाली, १४ वटा भेन्टिलेटर र पाँच वटा सी–आर्म मेसिनसमेत प्रयोगविहीन अवस्थामा रहेका छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७२ लाख ६० हजार रुपैयाँ बराबरका पाँच थान १२ लिड ईसीजी तथा ३०० सेट उपकरण प्रयोगबाहिर रहेका छन्।
गजेन्द्र नारायण सिंह अस्पतालमा ४ करोड ९० लाख ९५ हजार रुपैयाँका एक्स–रे मेसिन, इन्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी प्रणाली, एनेस्थेसिया मेसिन र इलेक्ट्रोकार्डियोग्राफी उपकरण सञ्चालनमा आउन नसकेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी सिंहदरबार वैद्यखाना विकास समितिमा औषधि उत्पादनसँग सम्बन्धित ६० प्रकारका उपकरण प्रयोगविहीन अवस्थामा रहेका छन्। नेपाल प्रहरी अस्पतालमा जडान गरिएका १६ स्लाइस सीटी स्क्यान र १.५ टेस्लाको एमआरआई मेसिनसमेत सञ्चालनमा छैनन्।
स्वास्थ्य सेवा विभागले चालु आर्थिक वर्षमा ९६५ हाइट बोर्ड र ९६५ इलेक्ट्रोनिक तौल मेसिन खरिदमा ६ करोड ७३ लाख रुपैयाँभन्दा बढी खर्च गरेको भए पनि यसअघि खरिद गरिएका धेरै उपकरण प्रयोगविहीन रहेको प्रतिवेदनमा औंल्याइएको छ।
उता बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने टेलिथेरापी मेसिन चार वर्षदेखि बन्द अवस्थामा रहेको छ। मेसिनभित्र रहेको रेडियोधर्मी स्रोतको आयु सकिँदै गए पनि विकिरण जोखिम कायम रहेको महालेखाले जनाएको छ।
महालेखा परीक्षकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सबै स्वास्थ्य संस्थामा रहेका उपकरणहरूको अवस्था अनुगमन गरी प्रभावकारी उपयोग सुनिश्चित गर्न निर्देशन दिएको छ।



कागजपत्र |
