माउण्टेन डिउको बिक्रीमा रोक, गुणस्तरमाथि छानबिन सुरु


काठमाडौं– सामाजिक सञ्जालमा एक उपभोक्ताले माउन्टेन डिउ सेवनपछि वाकवाकी लागेको भन्दै भिडियो सार्वजनिक गरेपछि सरकारले घटनाप्रति गम्भीर चासो देखाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्बन्धित ब्याचको उत्पादनमाथि अनुगमन गर्दै तत्कालका लागि बिक्री–वितरणमा रोक लगाएको जनाएको छ।

काठमाडौँको तारकेश्वर नगरपालिकाका एक उपभोक्ताले माउन्टेन डिउ पिएपछि अस्वाभाविक महसुस भएको र वाकवाकी आएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए। उक्त गुनासोपछि विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ले तत्काल अनुगमन सुरु गरेको हो।

विभागका अनुसार प्रभावित उत्पादन ब्याच नम्बर १६८ (उत्पादन मिति २०२६/०४/०६) को २५० मिलिलिटर प्याक रहेको छ। अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका–३२ स्थित वरुण वेभरेजमा उक्त ब्याचको एक क्रेट मात्र गोदाममा फेला परेको र बाँकी स्टक डिलरहरूकहाँ पठाइसकिएको पाइएको छ।

अनुगमनका क्रममा उत्पादनमा प्रयोग गरिएका कच्चा पदार्थ उपभोग्य मिति भित्रकै रहेको प्रारम्भिक रूपमा देखिएको विभागले जनाएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले सम्बन्धित कम्पनीलाई पाँच दिनभित्र उक्त ब्याचमा प्रयोग भएका कच्चा पदार्थको विस्तृत विवरण तथा खाद्य स्वच्छतासम्बन्धी अभिलेख पेश गर्न निर्देशन दिएको छ।

साथै, सो ब्याचको नमुना संकलन गरी प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको छ। प्रयोगशालाको अन्तिम प्रतिवेदन नआएसम्म ब्याच नम्बर १६८ का उत्पादन बिक्री–वितरण नगर्न उद्योग तथा डिलरहरूलाई कडा निर्देशन दिइएको विभागले जनाएको छ।

विभागले उपभोक्ताको स्वास्थ्यमा असर पर्ने गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको उल्लेख गर्दै दोषी पाइए कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

प्रतिक्रिया