
विराटनगरमा ठूलो परिमाणमा प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ
विराटनगर- विराटनगरमा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विशेष सूचनाका आधारमा परिचालित प्रहरी टोलीले विराटनगर महानगरपालिका–३ स्थित भाडाको कोठाबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा मोरङको बुढीगंगा गाउँपालिका–२, गंगाचोकका २७ वर्षीय करन प्रधान र २१ वर्षीय अनिस परियार रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र प्रहरी चौकी बरगाछीबाट खटिएको संयुक्त टोलीले बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीले उनीहरूको कोठामा गरिएको खानतलासीका क्रममा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला पारेको हो। बरामद गरिएका सामग्रीमध्ये ट्रामाडोल ३ हजार ९ सय ९० पिस र डाइसाइक्लोमाइन ३ हजार ९ सय ७० पिस रहेका छन्। दुवै गरी जम्मा ७ हजार ९ सय ६० पिस प्रतिबन्धित औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, लागुऔषध चरेस जस्तो देखिने ८ ग्राम ७५ मिलिग्राम पदार्थ पनि फेला परेको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखी थप अनुसन्धान भइरहेको सूचना अधिकारी तथा डिएसपी लिलाराज लामिछानेले बताएका छन्।



कागजपत्र |
