छोरीको नक्कली ट्रान्सक्रिप्ट बनाउने बाबु पक्राउ


काठमाडौं-  आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट बनाएको आरोपमा अदालतबाट कैद सजाय पाएर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर महानगरपालिका–३ निवासी ६१ वर्षीय क्रोडी फ्रेन्च क्षेत्री भनिने फरदिनान्द भ्यालेन्टाइन फेट्जलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार उनले आफ्नै छोरीको कक्षा ११ र १२ उत्तीर्ण भएको नक्कली ट्रान्सक्रिप्ट तथा अन्य शैक्षिक कागजात तयार पारेको आरोपमा उच्च माध्यमिक शिक्षा परिषद्, परीक्षा नियन्त्रण कार्यालयले जाहेरी दिएको थियो।

उक्त घटनामा अनुसन्धानपछि भक्तपुर जिल्ला अदालतले २०८२ वैशाख ३ गते सरकारी छाप दस्तखत किर्ते मुद्दामा उनलाई एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। अदालतको फैसला पछि फरार रहेका उनलाई प्रहरीले मंगलबार काठमाडौंको तिलगंगा क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेका फेट्जलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको जनाएको छ।

प्रतिक्रिया