श्रम मन्त्रीको सचिवालयका कर्मचारी अपहरण र लुटपाट आरोपमा पक्राउ


काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा कार्यरत चालक गम्भीर आपराधिक कसुरमा पक्राउ परेका छन् । सप्तरीको राजविराज नगरपालिका–३ पाख्रेल टोल बस्ने २७ वर्षीय मुस्तकिम मियाँलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मियाँलाई सोमबार राजविराजबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध अपहरण, शरीर बन्धक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०८२ फागुन १४ गते राजविराज नगरपालिका–३ हनुमान चोकमा राजु कुमार चौधरीलाई मियाँसहितको समूहले अपहरण गरी लुटपाट गरेको आरोप छ।

पीडितले प्रहरीमा दिएको बयानअनुसार समूहले बन्दुक देखाएर धम्की दिँदै मोबाइल, करिब २ तोला सुनको सिक्री र नगद १ लाख ३० हजार रुपैयाँ लुटेको थियो। साथै अमानवीय व्यवहार गर्दै अपमानसमेत गरेको आरोप लगाइएको छ।

मियाँविरुद्ध जिल्ला अदालत सप्तरीले वैशाख २४ गते पक्राउ अनुमति जारी गरेको थियो। उनीसँगै संलग्न अन्य तीन जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुस्तकिम मियाँ यसअघि विद्युतीय अपराधसम्बन्धी मुद्दा र अर्का एक व्यक्तिमाथि कुटपिटसम्बन्धी घटनामा समेत फरार अभियुक्त रहेको खुलेको छ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया