सीमा नाकामा १०० रुपैयाँको भन्सार सीमा संशोधन गर्ने अर्थमन्त्रीको घोषणा


काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल सीमा नाकाबाट १ सय रुपैयाँभन्दा बढी मूल्यका सामान भन्सार शुल्क नतिरी ल्याउन नपाइने प्रावधान संशोधन गरिने बताएका छन्।

सरकारले सीमावर्ती भारतीय बजारबाट ल्याइने १०० रुपैयाँभन्दा माथिका वस्तुमा भन्सार महसुल अनिवार्य गरेको नियमका कारण सामान्य उपभोक्ताले समेत सानो परिमाणका सामान ल्याउँदा अनावश्यक झन्झट भोग्नुपरेको भन्दै त्यसलाई सहज बनाइने उनले स्पष्ट पारे।

सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको सुविधालाई ध्यानमा राख्दै हालको १०० रुपैयाँको सीमा बढाइने तयारी रहेको अर्थमन्त्री वाग्लेले जानकारी दिए। मंगलबार अर्थ समितिमा भएको छलफलमा बोल्दै उनले उक्त व्यवस्था वर्तमान सरकारका पालामा नभई पहिल्यैदेखि लागू रहेको पनि बताए।

“यो हामी आएर बनाएको नियम होइन,” उनले भने, “तर यो सीमा बढाइन्छ। यद्यपि राजस्व चुहावट गर्ने उद्देश्यले हुने तस्करीप्रति भने हामी कडाइका साथ प्रस्तुत हुन्छौं।”

उनका अनुसार घरायसी सामानको नाममा दैनिक १०/१२ पटकसम्म सीमा वारपार गरेर सामान ओसार्ने प्रवृत्ति देखिएकाले त्यसमा कडाइ गरिनेछ। सरकारले एकातिर सर्वसाधारणलाई सहजता दिने र अर्कोतर्फ अवैध व्यापार तथा तस्करी नियन्त्रण गर्ने नीति लिने उनले स्पष्ट पारे।

प्रतिक्रिया