भ्रामक समाचारविरुद्ध साइबर ब्यूरो र प्रेस काउन्सिल पुगे सांसद खरेल


काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा पूर्वमन्त्री जगदीश खरेलले आफ्नो विरुद्ध भ्रामक र आधारहीन समाचार प्रकाशित भएको भन्दै कानुनी कारबाही अघि बढाएका छन् ।

उनले सोमबार प्रेस काउन्सिल नेपाल र नेपाल प्रहरीको साइबर ब्यूरोमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका हुन् ।

सांसद खरेलले सामाजिक सञ्जालमार्फत आफूविरुद्ध झुटा र कपोलकल्पित समाचार प्रकाशन भएको भन्दै आपत्ति जनाएका छन् ।

उनले सम्बन्धित सञ्चार माध्यमले माफी माग्नुपर्ने र आफ्नो खण्डनलाई अघिल्लो समाचार सरह प्राथमिकताका साथ प्रकाशित गर्नुपर्ने माग राखेका छन् ।

“यस घटनाले मेरो प्रतिष्ठा र स्वाभिमानमा गम्भीर ठेस पुगेको छ,” उनले भनेका छन्, “मिडियाको आवरणमा हुने यस्ता गैरजिम्मेवार गतिविधिले समग्र पत्रकारिताको छविमा असर पार्छ ।”

आफू पत्रकारिताको पृष्ठभूमिबाट आएको उल्लेख गर्दै खरेलले पत्रकारिताको मर्यादा जोगाउन यस्तो कदम चाल्नुपरेको स्पष्ट पारेका छन् ।

उनले भ्रामक प्रचारमा संलग्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया