
सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर बन्न आईजीपी कार्कीको आग्रह
काठमाडौं- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि गम्भीर र जिम्मेवार बन्न यातायात व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक सवारीसाधन दुर्घटनामा औसतमा दैनिक आठ जनाले ज्यान गुमाइरहेको अवस्था अत्यन्त दुःखद भएको बताए ।
“औसतमा दिनमा आठ जनाको मृत्यु हुनु निकै पीडादायी अवस्था हो । यसबाट हामी आफैँ पनि कुनै न कुनै बेला पीडित हुन सक्छौँ,” उनले भने, “त्यसैले दुर्घटना न्यूनीकरणमा सबै पक्षको सहयोग आवश्यक छ ।”
आईजीपी कार्कीले नेपालको जटिल भूगोल, देशभर जथाभावी निर्माण गरिएका सडक तथा कमजोर इन्जिनियरिङ संरचनाका कारण दुर्घटनाको जोखिम बढिरहेको बताए । उनले दुर्घटनामा सवारी साधनको यान्त्रिक अवस्थासमेत उत्तिकै जिम्मेवार हुने उल्लेख गर्दै यातायात व्यवसायीलाई त्यसतर्फ विशेष ध्यान दिन आग्रह गरे ।
उनले सवारी दुर्घटना राज्य, यातायात व्यवसायी, मजदुर युनियन तथा आम नागरिक सबैको साझा चिन्ताको विषय भएको बताए । दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सबै पक्ष जिम्मेवार र सचेत बन्नुपर्नेमा उनले जोड दिए ।
आईजीपी कार्कीले यातायात व्यवसायीहरूको महाधिवेशनले पनि सडक दुर्घटना न्यूनीकरणका लागि स्पष्ट मार्गनिर्देशन र प्रभावकारी दिशा तय गर्नुपर्ने धारणा राखे ।



कागजपत्र |
