बोलपत्र वेबसाइट ह्याक प्रकरणमा विक्रम पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा


काठमाडौं-  सार्वजनिक खरिद अनुगमन कार्यालयअन्तर्गत सञ्चालनमा रहेको ‘बोलपत्र डटकम डट एनपी’ वेबसाइटमा अनधिकृत पहुँच बनाएर ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरूसहित २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानको प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालय काठमाडौँले जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । प्रतिवादीमध्ये कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे पनि रहेका छन् ।

मुद्दामा प्रतिवादी बनाइएकामध्ये दिवाकर देउजा, भरत धामी, सोली थुक्का निर्माण सेवाका सञ्चालक सञ्जय भट्ट, कटुवा कन्स्ट्रक्सनका सञ्चालक सागर कटुवाल, काठमाडौँ–३३ का भाष्करराज अर्याल, गीताञ्जली कन्स्ट्रक्सन दुवही प्रालिका जीवनकुमार दास, शिभांस निर्माण सेवाका सञ्चालक अनिल श्रेष्ठ, भिसान कन्स्ट्रक्सन प्रालिका टंककुमार श्रेष्ठ तथा चपुर निर्माण सेवाका अमृत बोहरा रहेका छन् ।

त्यस्तै, इनकोन प्रालिका सञ्चालक स्वदेश पोखरेल, कल्पवृक्ष बिल्डर्सका प्रकाश ढुङ्गाना, आशिष निर्माण सेवाका ऋषिकेश गौली, केबिके कन्स्ट्रक्सन प्रालिका सञ्चालक राहुलजङ्ग कार्की, मान कन्स्ट्रक्सनका नारायणप्रसाद खिटिखु, रमिता इन्फ्रास्ट्रक्चर प्रालिका इन्द्रबहादुर बोहरा, एसके कन्स्ट्रक्सनका शान्तकुमार श्रेष्ठ, दक्षिणकाली अल ओभर कन्ट्याक्टका निरन्जन खनाल, नन्दी कन्स्ट्रक्सनका कृष्णबहादुर खत्री, आशिष निर्माण सेवामै कार्यरत ज्योति सुवेदी, चपुर र कल्पवृक्षका सञ्चालक सरोज दाहाल तथा राइजिङ पिक कन्स्ट्रक्सन प्रालिका सञ्चालक सुजन अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा १२ जनालाई पक्राउ गरेको थियो भने अन्यलाई फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरिएको छ ।

अनुसन्धानअनुसार आरोपितहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको सर्भर प्रणालीमा अनधिकृत पहुँच बनाएर ह्वाट्सएप नम्बरमार्फत ठेक्काको विवरण हेरफेर गर्ने, ठेक्का पारिदिने तथा ठेक्का मिलाउनेबारे आपसमा कुराकानी गर्ने गरेका थिए ।

प्रहरीका अनुसार उनीहरूले सन् २०२३ देखि डाटा हव प्रालिको क्लाउड सर्भरमा ‘प्रोटेक्ट टेस्टिङ’ का लागि लिइएको भिपिएस सर्भरमा पहुँच बनाएर बिडिङ मूल्यमा हेरफेर गर्दै आएको पाइएको छ । अनुसन्धानका क्रममा उनीहरू क्रिप्टो कारोबारमा समेत संलग्न रहेको खुलेपछि सरकारी वकिल कार्यालयले सो कसुरमा पनि सजायको मागदाबी गरेको छ ।

प्रतिक्रिया