
राष्ट्रिय सभा सदस्य जगत पार्कीविरुद्ध बैंकिङ्ग कसुरमा पक्राउ पुर्जी
काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा राष्ट्रिय सभा सदस्य जगतबहादुर पार्कीविरुद्ध बैंकिङ्ग कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । कैलाली जिल्ला अदालतले चैत १७ गते पक्राउ पुर्जी जारी गरे पनि उनी चार महिनादेखि प्रहरीको सम्पर्कबाहिर रहेका छन् ।
डडेल्धुराको आलिताल गाउँपालिका–७ स्थायी घर भएका पार्कीविरुद्ध धनगढी उपमहानगरपालिका–३ का नरेशबहादुर थापाले गत चैत २ गते बैंकिङ्ग कसुरको मुद्दा दायर गरेका थिए । मुद्दा नम्बर ०८२–सि १–०७६९ रहेको उक्त प्रकरण अहिले अदालतमा विचाराधीन छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएको पुष्टि गर्दै मुद्दा अदालतमा बुझाइसकिएको जानकारी दिए ।
‘पुर्जी जारी भए पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन्,’ डीएसपी तिमिल्सिनाले भने ।
प्रहरी स्रोतका अनुसार पार्कीविरुद्ध कैलाली मात्र नभई काठमाडौंमा समेत पक्राउ पुर्जी जारी भएको बुझिएको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा समेत उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ । केही दिनअघि प्रहरी वृत्त बानेश्वरको टोली उनलाई पक्राउ गर्न बानेश्वरस्थित निवासमै पुगेको थियो । तर, उनी घरमा फेला नपरेपछि टोली रित्तै फर्किएको थियो ।
यता सांसद पार्कीले भने आफू योजनाबद्ध रूपमा फसाइएको दाबी गरेका छन् । बैंकिङ्ग कसुर मुद्दामा आफू प्रत्यक्ष दोषी नभई साथीका लागि जमानी बसेका कारण कानुनी झमेलामा परेको उनको भनाइ छ ।
‘म अहिले भारतमा उपचार गराउँदैछु । नेपाल फर्किएपछि मिलापत्र गर्छौं । मैले आधाभन्दा बढी रकम फिर्ता गरिसकेको छु,’ पार्कीले भनेका छन् ।
उनले व्यवहारिक हिसाबले आफू नै पीडित भएको जिकिर गर्दै ऋण लिने व्यक्तिहरू रकम फिर्ता नगरेपछि समस्या उत्पन्न भएको बताए ।
‘कानुनी रूपमा म तल परेको हुँला तर व्यवहारिक हिसाबले उल्टै पीडित हुँ,’ उनले भने, ‘ऋण लिएर फिर्ता नगर्नेहरूविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।’
प्रहरीका अनुसार बैंकिङ्ग कसुरसँग सम्बन्धित मुद्दा भएकाले पीडित पक्षको रकम फिर्ता भएमा मिलापत्रको सम्भावना भने कायमै छ । डीएसपी तिमिल्सिनाले आरोपी सम्पर्कमा आएर रकम फिर्ता गरे मुद्दा मिल्न सक्ने बताए ।



कागजपत्र |
