
देउवा दम्पतीविरुद्ध रेड नोटिस प्रक्रिया अझै अधुरो, इन्टरपोलले थप कागजात माग्यो
काठमाडौं- पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा दम्पतीविरुद्ध इन्टरपोलको रेड नोटिस जारी गर्ने प्रक्रिया अझै पूरा हुन सकेको छैन। करिब एक महिना अघि रेड नोटिसका लागि पहल सुरु भए पनि हालसम्म कुनै औपचारिक निर्णय नभएको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका एक अधिकारीका अनुसार देउवा दम्पतीमाथि रेड नोटिस जारी गर्ने प्रक्रिया अझै अध्ययन र कागजात मिलानको चरणमै रहेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई प्रहरीको एनसीबी काठमाडौंमार्फत इन्टरपोललाई पत्राचार गरेको हो।
तर इन्टरपोलको केन्द्रीय कार्यालय (फ्रान्स) ले थप कागजात माग गरेपछि प्रक्रिया अझै रोकिएको जनाइएको छ। आवश्यक विवरण पूरा भएपछि मात्र रेड नोटिसबारे निर्णय हुने बताइएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा अदालतले चैत २४ गते पक्राउ अनुमति दिएको थियो।
देउवा दम्पती सिंगापुर हुँदै हङकङ गएको बताइए पनि उनीहरू हाल कहाँ छन् भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन।



कागजपत्र |
