उद्योगी–व्यवसायीलाई रवि लामिछानेको आश्वासन: डराउनुपर्ने अवस्था छैन


काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई आत्तिन वा डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्। आइतबार निजी क्षेत्रका प्रतिनिधिसँग भएको छलफलमा उनले सरकार र रास्वपाप्रति सशङ्का नराख्न आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूसँगको भेटमा लामिछानेले निजी क्षेत्रमा देखिएको असहजता र डरको वातावरणबारे चासो व्यक्त गर्दै संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए।

उनका अनुसार केही व्यवसायी तथा समूहहरूले अर्थतन्त्रलाई नियन्त्रणमा राख्ने प्रयास गरेकाले सरकार कडाइका साथ अघि बढ्नुपरेको हो। तर वास्तविक अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको भन्दै उनले समस्या समाधानका लागि ‘रोडम्याप’ तयार भइसकेको जानकारी दिए।

उद्योगी–व्यवसायीले समस्या समाधानका लागि पटक–पटक सरकारी निकाय वा पार्टी कार्यालय धाउनुपर्ने अवस्था नआउने भन्दै उनले सहज र प्रभावकारी समाधानको प्रतिबद्धता जनाए। “हामी फरक ढङ्गबाट परिवर्तनको अनुभूति दिलाउन चाहन्छौँ,” उनले भने।

छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले हरेक आन्दोलनमा निजी क्षेत्र निशानामा पर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण घटिरहेको अवस्थामा निजी क्षेत्रलाई प्रोत्साहन अपरिहार्य रहेको उल्लेख गरे। नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले स्थिर सरकारसँग आर्थिक सुधारको अपेक्षा रहेको धारणा राखे।

फरक प्रसङ्गमा लामिछानेले सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने स्पष्ट पार्दै जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने नीति अघि बढाइने बताएका छन्।

प्रतिक्रिया