मुक्तकमैया समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी


कञ्चनपुर- कञ्चनपुरमा कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन्।

मुक्तकमैया समाज जिल्ला समिति कञ्चनपुरको आयोजनामा शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित खुला मञ्चमा आयोजित जागरणसभामा मन्त्री चौधरीले मुक्तकमैया, हलिया, हरवाचरवा तथा कम्लरी समुदायको अधिकारका लागि सरकारसँगै अघि बढ्ने प्रतिबद्धता जनाइन्।

आफू पनि यही समुदायसँग नजिकको सम्बन्ध भएको उल्लेख गर्दै उनले भूमिसम्बन्धी समस्या समाधानलाई सरकारको प्राथमिकतामा राखिएको बताइन्। “तपाईंहरूको समस्या मेरो समस्या पनि हो, म यसबारे जानकार छु। त्यसैले अधिकारको लडाइँमा म र सरकार तपाईंहरूसँगै छौँ,” उनले भनिन्।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृपाराम रानाले मुक्तकमैया, कम्लरी, हलिया तथा आरक्ष पीडितहरूको न्यायिक पुनःस्थापनाका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। उनले कतिपयसँग लालपुर्जा भए पनि जग्गा नभएको र कतै जग्गा भए पनि लालपुर्जा नभएको अवस्था रहेको उल्लेख गर्दै पुनःस्थापनामा गम्भीर सुधार आवश्यक रहेको बताए।

त्यसैगरी प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महतले मुक्तिको घोषणा मात्र पर्याप्त नभएको भन्दै सुरक्षित आवास, पुनःस्थापना र आधारभूत सेवाको सुनिश्चिततामा सरकार केन्द्रित हुनुपर्ने बताए। “अब नागरिकले सरकार खोज्दै हिँड्नुपर्ने अवस्था होइन, सरकार नै नागरिकसम्म पुग्नुपर्छ,” उनले भने।

मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले मुक्त घोषणा भएको दुई दशक बितिसक्दा पनि धेरै समस्या समाधान हुन नसकेको गुनासो गरे। उनका अनुसार अझै तीन हजारभन्दा बढी मुक्तकमैया परिवार पुनःस्थापनाको प्रतीक्षामा छन्। धेरैले परिचयपत्र पाए पनि जग्गा नपाएको उनले बताए।

जागरणसभामा सहभागी वक्ताहरूले मुक्तकमैया समुदायको दीर्घकालीन पुनःस्थापना, भूमि व्यवस्थापन, शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चित गर्न प्रभावकारी नीति र कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए।

प्रतिक्रिया