
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग जेठदेखि सञ्चालनमा आउने
काठमाडौं–नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आगामी जेठदेखि सञ्चालनमा आउने तयारी गरिएको छ। करिब २.६८८ किलोमिटर लामो उक्त सुरुङमार्ग सञ्चालनका लागि सरकार र चयनित सेवा प्रदायक कम्पनीबीच सम्झौता भइसकेको छ।
सुरुङ सञ्चालन तथा व्यवस्थापनका लागि एआरटी नेपाली कम्पनी र चिनियाँ युसिन कम्पनीको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) छनोट गरिएको हो। आर्थिक प्रस्तावका आधारमा सबैभन्दा कम लागतमा ठेक्का प्रस्ताव गरेपछि उक्त कम्पनीसँग गत अप्रिल २९ मा सम्झौता गरिएको आयोजनाले जनाएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालका अनुसार सम्झौतापछि सञ्चालनको तयारी तीव्र बनाइएको छ। सेवा प्रदायक कम्पनीले तीन महिनाभित्र आवश्यक जनशक्तिलाई तालिम दिएर सुरुङ सञ्चालनमा ल्याउनुपर्नेछ।
हाल सुरुङमार्ग निर्माणको करिब ९८ प्रतिशत काम सम्पन्न भइसकेको छ। अब आपतकालीन उद्धारलगायतका विषयमा खटिने जनशक्तिलाई प्रशिक्षण दिइने र त्यसपछि सुरुङमार्ग सञ्चालनमा ल्याइने तयारी रहेको जनाइएको छ।
आयोजनाका अनुसार उक्त कम्पनीले पाँच वर्षसम्म सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मा लिनेछ, जसका लागि करिब १ अर्ब १० करोड ४० लाख रुपैयाँमा सम्झौता भएको छ।



कागजपत्र |
