
प्रधानमन्त्री र नेताहरूलाई गोली हान्ने धम्की दिने युवक काठमाडौंमा पक्राउ
काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलगायतलाई रिहा नगरे प्रधानमन्त्रीलाई नै गोली हान्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बझाङको थलरा गाउँपालिका–४ मयलका २० वर्षीय साजन बिष्ट रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिनामंगलबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार ‘सानुभाई’ नामको फेसबुक आईडीबाट उनले ओली, लेखक र पूर्वऊर्जामन्त्री दीपक खड्कालाई तत्काल रिहा गर्न चेतावनी दिएका थिए। साथै, प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई समेत लक्षित गर्दै गोली हान्ने धम्की दिएको खुलेको छ।
सामाजिक सञ्जालमा उनले एके–४७ जस्ता आधुनिक हतियार काठमाडौं भित्रिसकेको दाबीसमेत गरेका थिए।
प्रहरीले उनलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धानपछि साइबर ब्यूरोमा पठाएको जनाएको छ। उनीविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।



कागजपत्र |
