
इरानमा पक्राउ परेका अमृत झा अझै जेलमै, रिहा भएको सरकारी दाबी झुटो
काठमाडौं- इरानमा पक्राउ परेका नेपाली युवा अमृत झा रिहा भएको भन्दै परराष्ट्र मन्त्रालयले जानकारी दिए पनि उनको परिवारले भने उनी अझै जेलमै रहेको दाबी गरेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले यसअघि झा रिहा भइसकेको र उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको बताएका थिए। तर झाकी दिदी पूजा झाका अनुसार सोमबार मात्र अमृतले फोन गरी आफू अझै इरानको बन्दर अब्बासस्थित जेलमै रहेको जानकारी दिएका हुन्।
“भाइको फोन आयो। उसले नेपालबाट रिहाइका लागि के भइरहेको छ ? भनेर सोध्यो । मैले भनेँ तिमी रिहा भइसक्यौ भनेर खबर आएको छ। तर उसले भन्यो, त्यस्तो केही छैन, म अझै जेलमै छु,” पूजा झाले भनिन्।
उनका अनुसार अमृतले आफूविरुद्धको मुद्दा अझै अनुसन्धानमै रहेको र अदालतबाट पत्र आएको जानकारी दिएका छन्। पत्रमा हालको अवस्थामा अनुसन्धान जारी रहेको भन्दै उनलाई तत्काल रिहा गर्न नसकिने उल्लेख गरिएको परिवारको भनाइ छ।
यसअघि परराष्ट्र मन्त्रालयले झा रिहा भइसकेको र कतारस्थित नेपाली दूतावाससँग समन्वयमा उनलाई स्वदेश फर्काउने तयारी भइरहेको जनाएको थियो। तर पछिल्लो विवरणले उनको अवस्था अझै स्पष्ट हुन सकेको छैन।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने झाको रिहाइ प्रक्रिया सुरु भइसकेको र उनलाई स्वदेश ल्याउन कूटनीतिक पहल जारी रहेको बताएका छन्। उनका अनुसार इरानमा रहेका ११ जना नेपाली नागरिकलाई सुरक्षित रूपमा फर्काउने प्रयास भइरहेको छ।
झा यूएईस्थित ब्ल्याक सी मरीन एलएलसी कम्पनीको पानीजहाजमा कार्यरत थिए। उनी दुबईबाट तेल लिन इरान गएको समयमा पक्राउ परेका थिए भन्ने प्रारम्भिक विवरण सार्वजनिक भएको थियो।



कागजपत्र |
