
डडेल्धुराका निर्माण व्यवसायीद्वारा ‘कन्ट्रक्सन होलीडे’काे घोषणा
डडेल्धुरा- डडेल्धुराका निर्माण व्यवसायीहरू गम्भीर आर्थिक संकटमा पुगेका छन्। निर्माण सामग्री तथा इन्धनको अस्वाभाविक र निरन्तर मूल्यवृद्धिका कारण निर्माण उद्योग नै धराशायी हुने अवस्था आएको भन्दै निर्माण व्यवसायी संघ, डडेल्धुराले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।
संघले लगभग २०० भन्दा बढी निर्माण व्यवसायीहरूको प्रतिनिधित्व गर्दै ज्ञापन पत्र बुझाउँदै निर्माण क्षेत्रमा ‘आपतकाल’ घोषणा गर्न माग गरेको छ। पछिल्लो समय मध्यपूर्वमा जारी युद्धका कारण इन्धनजन्य सामग्रीहरू डिजेल, पेट्रोल, मट्टितेल लगायतका मूल्यमा ४० देखि १२० प्रतिशतसम्म वृद्धि भएको उल्लेख गरिएको छ।
त्यसैगरी बिटुमिन, सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीमा निरन्तर मूल्यवृद्धि मात्र नभई बजारमै अभाव देखिन थालेपछि निर्माण कार्य नै ठप्प हुने जोखिम बढेको व्यवसायीहरूको भनाइ छ।
संघका अनुसार राष्ट्र बैंकको मूल्य सूचकाङ्कका आधारमा हुने ठेक्का मूल्य समायोजन प्रणालीले वास्तविक बजार मूल्य वृद्धि प्रतिबिम्बित नगर्दा व्यवसायीहरू थप मारमा परेका छन्।
ज्ञापन पत्रमा तत्काल ‘मूल्य समायोजन मार्गनिर्देशिका–२’ जारी गर्न, पुराना ठेक्कामा समेत मूल्य समायोजनको व्यवस्था गर्न र समस्या समाधान नभएसम्म निर्माण व्यवसायीलाई राहत दिन माग गरिएको छ।
संघले चेतावनीस्वरूप माग सम्बोधन नभएसम्म ‘कन्ट्रक्सन होलीडे’ घोषणा समेत गरेकाे छ।
संघका अध्यक्ष रामबहादुर विष्टले हस्ताक्षर गरेको उक्त ज्ञापन पत्रमा निर्माण क्षेत्र गम्भीर संकटमा पुगेको भन्दै तत्काल सरकारी हस्तक्षेप आवश्यक रहेको उल्लेख गरिएको छ।




कागजपत्र |
