
विष्णुमती खोला किनारमा भेटियो ४ पेस्तोल र ५८ राउण्ड गोली
काठमाडौं- काठमाडौंको विष्णुमती खोला किनारमा चार थान पेस्तोलसहित ५८ राउण्ड गोली फेला परेको छ ।
काठमाडौं महानगरपालिका–१५ शोभाभगवती क्षेत्रको खोला किनारबाट उक्त हतियार बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । उनका अनुसार पेस्तोलसँगै सात थान म्यागजिन पनि भेटिएको छ ।
बरामद गरिएको हतियारमध्ये टाइप–५४ पेस्तोल रहेको र सोही प्रकारका सात म्यागजिन फेला परेको प्रहरीले जनाएको छ । त्यस्तै, ९ एमएम बेरेटा पेस्तोलका ५८ राउण्ड गोली पनि बरामद गरिएको हो ।
महानगरपालिका र प्रहरीको संयुक्त सरसफाइ टोलीले आइतबार बिहान खोला सफा गर्ने क्रममा शंकास्पद वस्तु फेला पारेपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि विशेष सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले हतियार नियन्त्रणमा लिएको हो ।
प्रहरीले उक्त हतियार जेनजी आन्दोलनका क्रममा लुटिएको हुन सक्ने आशंका गर्दै थप अनुसन्धान अघि बढाएको छ ।



कागजपत्र |
