
वीरगन्जमा अतिक्रमित संरचनामा चल्यो डोजर, १२ सय घरटहरा भत्काइँदै
वीरगन्ज- सडक डिभिजन कार्यालय हेटौँडाले आइतबार बिहानैदेखि वीरगन्जमा मुख्य सडक अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा भत्काउन सुरु गरेको छ ।
त्रिभुवन राजपथअन्तर्गतको गण्डकचोकदेखि मितेरीपुलसम्म सडकको बीच भागबाट दायाँ–बायाँ २५–२५ मिटर सडक विस्तारका लागि अतिक्रमण गरेर निर्माण गरिएका संरचना भत्काउन सुरु गरिएको हो ।
सडक डिभिजन हेटौँडा कार्यालयले अब बिहान पाँच बजेदेखि करिब एक दर्जन एक्जाभेटर लगाएर अतिक्रमित संरचना हटाउन थालेको र समग्रमा करिब १२०० घरटहरा भत्काइने जनाइएको छ ।
कार्यालयका इन्जिनियर भोला साहले सर्वाेच्च अदालतको फैसला र संघीय सरकारको निर्देशनअनुसार नै अतिक्रमित संरचना भत्काउन सुरु गरिएको जानकारी दिए । “मापदण्डविपरीतका घरटहरा भत्काउन पटकपटक सूचना जारी गरेको थियौँ । तर, अटेर गरेपछि एक्साभेटर लगाएर भत्काउन थालेका हौँ,” उनले भने, “यसले सडक विस्तार अभियानलाई अघि बढाउन सहज हुनेछ ।”
वीरगन्जको मुख्य सडकमा घरटहरा रहेका घरधनी, व्यापारी तथा व्यवसायीले भने स्थानीय प्रशासनले १२ घण्टाभन्दा छोटो सूचना दिएर घरखाली गर्न निर्देशन दिँदा समस्या भएको गुनासो गरेका छन् ।
यहाँको घण्टाघरमा घर रहेका घरधनी कन्हैयालाल केशरीले सर्वाेच्च अदालतको फैसला कार्यान्वयन गर्नका लागि भत्काउने विषयमा कुनै पनि गुनासो नभए पनि पर्याप्त समय नदिएकाले समस्या भएको गुनासो गरे । “घर तथा पसल खाली गर्नका लागि कम्तीमा एक साताको समय दिएको भए आफूहरूले स्वस्फूर्त सरसमान हटाउने मौका पाउने थियौँ,” उनले भने ।
वीरगन्ज महानगरका नगर प्रहरी प्रमुख हरि भुसालले आइतबार बिहानदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नगर प्रहरीको कडा सुरक्षा निगरानीमा अतिक्रमित संरचना भत्काइएको जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय पर्साले शनिबार साँझ सूचना जारी गर्दै आज बिहान साढे ४ बजेभित्र गण्डकचोकदेखि मितेरीपुलसम्म सडक अतिक्रमण गरेर बनाइएका घरटहरा हटाउन निर्देशन दिएको थियो । बिहानैदेखि मुख्य सडक खण्डमा संरचना भत्काइएपछि आज दिउँसो १२ः३० बजेसम्म यहाँ बिजुली तथा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।



कागजपत्र |
