काठमाडौंमा घरेलु हिंसामा पर्ने पुरुषको संख्या बढ्दो, ६ महिनामा ९८ उजुरी


काठमाडौं- पछिल्लो समय घरेलु हिंसामा पर्ने पुरुषको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पछिल्ला ६ महिनामा मात्रै काठमाडौंमा ९८ जना पुरुषले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन्।

उनका अनुसार विगतमा घरेलु हिंसा मुख्यतः महिलासँग जोडिने विषय मानिए पनि अहिले पुरुषहरूबाट समेत उजुरी आउने क्रम बढ्दै गएको छ। “पहिले महिला मात्रै पीडित हुने धारणा थियो, तर अहिले पुरुषहरू पनि हिंसामा परेको भन्दै प्रहरीसमक्ष आउन थालेका छन्,” उनले भने।

उक्त अवधिमा १३ जना पुरुषले ठाडो निवेदनमार्फत पनि उजुरी दर्ता गराएका छन्।

यस्तै, सोही अवधिमा ६२९ जना महिलाले घरेलु हिंसासम्बन्धी उजुरी दिएका छन् भने २९९ वटा ठाडो निवेदन दर्ता भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार प्राप्त उजुरीमध्ये केहीलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ भने गम्भीर प्रकृतिका पीडितलाई सुरक्षित आवासका लागि विभिन्न संघ–संस्थामा पठाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया