बैतडीमा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते


बैतडी-  बैतडीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शुक्रबार दिउँसो करिब १ः३० बजे सुर्नया गाउँपालिका–८ अन्तर्गत ढोल्यामोड–पुर्चौडी सडकखण्डमा दुर्घटना भएको हो।

श्रीभावरबाट पुर्चौडीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–०१३ प ४२४६ नम्बरको मोटरसाइकल (चालक पुर्चौडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायत) र विपरीत दिशाबाट आउँदै गरेको से ५ प ४७१७ नम्बरको मोटरसाइकल (चालक सुर्नया–८ का ३४ वर्षीय जनक लुहार) एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका जनक लुहारको मृत्यु भएको प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिएका छन्।

यस्तै, दुर्घटनामा अमिर कठायतसहित पुर्चौडी–५ का ३९ वर्षीय हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन्।

घाइतेमध्ये अमिर कठायत र हिक्कमत कुँवरलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। अमिरको अवस्था मध्यम रहेको र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया