पोखराकी सिर्जना हत्या काण्डका मुख्य योजनाकार सौतेनी छोरा


पोखरा-  पोखराको मुख्य बजारमा खुँडा प्रहार गरी ४२ वर्षीया सिर्जना पौडेल केसीको हत्या प्रकरणमा प्रहरीले सौतेनी छोरा नै मुख्य योजनाकार रहेको निष्कर्ष निकालेको छ।

गत चैत २५ गते साँझ सभागृहचोक नजिक स्कुटरमा आएका दुई जनाले सिर्जनाको कन्चटमा खुँडा प्रहार गरी हत्या गरेका थिए। घटनापछि फरार भएका उनीहरूलाई प्रहरीले २७ चैतमै पक्राउ गरी सार्वजनिक गरेको थियो। खुँडा प्रहार गर्ने उनका भान्जा २७ वर्षीय सन्तोष भनिने शिशिर केसी र स्कुटर चालक ३२ वर्षीय कुशल परियार रहेका छन्।

प्रहरीले थप अनुसन्धान गर्दै वैशाख १ गते अन्य तीन जनालाई पनि सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा शिशिरका भाइ २४ वर्षीय वसन्त केसी र सिर्जनाका छोरीज्वाइँ २७ वर्षीय नवराज पौडेल क्षेत्री रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानदेखि नै घटना पारिवारिक योजनाअन्तर्गत भएको आशंका गरिएको थियो। अंश मुद्दा, बकस तथा सम्पत्ति विवादका कारण परिवारमा लामो समयदेखि कलह रहेको खुलेको छ।

सूक्ष्म अनुसन्धानका क्रममा जिल्ला कारागार कास्कीमा रहेका सिर्जनाका सौतेनी छोरा गौरवले नै हत्याको योजना बनाएको प्रमाण भेटिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए। उनका अनुसार गौरवले करिब ६ महिनाअघि नै हत्या योजना बनाएको र कारागारमै बसेर आफन्तहरूलाई उक्साएको खुलेको छ।

प्रहरीका अनुसार भान्जा वसन्त केसी कारागारमै गई गौरवसँग भेटेका थिए। त्यही भेटपछि गौरवले हत्या गर्न उक्साउँदै सहयोगको आश्वासन दिएको अनुसन्धानबाट खुलेको छ।

गौरव हाल लागुऔषध मुद्दामा कारागारमा रहेका छन्। उनलाई थप अनुसन्धानका लागि अदालतबाट अनुमति लिएर नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

पारिवारिक सम्पत्ति विवाद, अंश मुद्दा र आपसी तनावका कारण सिर्जनाको ज्यान गएको प्रहरीको निष्कर्ष छ। उक्त घटनामा हालसम्म छोरा, भान्जा, ज्वाइँ र सहयोगीसहित ५ जना संलग्न रहेको भन्दै मुद्दा अघि बढाइएको छ।

यस घटनाले पारिवारिक विवादको चरम रूपले जघन्य अपराधमा परिणत भएको देखाएको प्रहरीले जनाएको छ। सिर्जनाको हत्या पछि उनकी ४ वर्षीया छोरीको अवस्था समेत दयनीय बनेको छ।

प्रतिक्रिया