धादिङमा २८६ किलो गाँजासहित दुई युवक पक्राउ


काठमाडौं- धादिङमा ठूलो परिमाणको गाँजासहित दुई जना युवक पक्राउ परेका छन्। प्रहरीले करिब २८६ किलो ४०० ग्राम अवैध लागुऔषध गाँजा बरामद गरेको हो।

जिल्लाको गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले गएराति बा.५ ख ७५३७ नम्बरको गाडी जाँच गर्ने क्रममा गाँजा फेला पारेको हो।

प्रहरीका अनुसार आदमघाटबाट गजुरीतर्फ आउँदै गरेको उक्त गाडीको ढालामा त्रिपालले छोपेर राखिएको नौ वटा बोराभित्र गाँजा लुकाइएकाे अवस्थामा भेटिएको थियो। सोही आधारमा गाडी चालक नीलकण्ठ नगरपालिका–८ निवासी २२ वर्षीय अम्मर विक र गाडीमा सवार सिद्धलेक गाउँपालिका–५ का १९ वर्षीय होमबहादुर विकलाई नियन्त्रणमा लिइएको हो।

बरामद गरिएको गाँजा सहित दुवै जनालाई पक्राउ गरी प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया