
कैलालीमा अस्पतालबाट थुनुवा भागे
कैलाली- कैलालीमा लागुऔषध मुद्दामा पक्राउ परेका एक थुनुवा उपचारका क्रममा अस्पतालबाट फरार भएका छन्। धनगढी उपमहानगरपालिका–७ मनहेराका ३२ वर्षीय मुकेश राना प्रहरी निगरानीमै रहेका बेला भागेका हुन्।
प्रहरीका अनुसार बिहीबार साँझ मिर्गी आएर ढलेपछि रानालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा होस खुलेपछि उनी प्रहरीको निगरानीबाट उम्किएर फरार भएका हुन्।
राना राति करिब पौने ९ बजेतिर अस्पतालबाट भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई खोजी गर्ने कार्य तीव्र बनाइएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार रानालाई २४ चैतमा १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो।
हाल फरार रहेका रानाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
