महिला यात्रुमाथि अभद्र व्यवहार गरी भिडियो भाइरल गर्ने युवक पक्राउ


काठमाडौं- नक्सालस्थित भगवती बाहल मन्दिर नजिक राइड सेयरिङका क्रममा एक महिला यात्रुमाथि अभद्र व्यवहार गरी भिडियो बनाइ सामाजिक सञ्जालमा फैलाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले ती युवकलाई नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका युवकले मोटरसाइकलमा सवार महिला यात्रुको मर्यादा र प्रतिष्ठामा आँच पुग्ने गरी अपशब्द प्रयोग गरेका थिए। उनले उक्त घटनाको भिडियो खिचेर टिकटक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक गर्दै भाइरल बनाएका थिए।

प्रहरीले पीडितलाई न्याय दिलाउने उद्देश्यले सम्बन्धित निकाय वा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन अनुरोध गर्दै अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ।

पछिल्लो समय ‘कन्टेन्ट’ बनाउने नाममा व्यक्तिको गोपनीयता र सम्मानमाथि आघात पुर्‍याउने प्रवृत्ति बढ्दो देखिएको भन्दै नेपाल प्रहरीले सबैलाई सचेत गराएको छ।

कुनै पनि भिडियो बनाउँदा वा सार्वजनिक अभिव्यक्ति दिँदा अरूको मर्यादा र चरित्रमा असर पर्ने गतिविधि नगर्न प्रहरीले कडा चेतावनी दिएको छ। यस्ता कार्यमा संलग्न जोसुकैलाई पनि साइबर अपराध तथा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।

प्रतिक्रिया