
नागरिकमैत्री सेवा दिन प्रहरीलाई आईजीपी कार्कीको निर्देशन
काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिक केन्द्रित सेवा प्रवाहलाई सर्वोच्च प्राथमिकतामा राख्न देशभरका प्रहरी कर्मचारीलाई कडा निर्देशन दिएका छन्। बुधबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सेवाग्राहीका समस्या तथा गुनासो छिटो, प्रभावकारी र पारदर्शी ढंगले समाधान गर्न जोड दिएका हुन्।
उनले प्रहरी कार्यालयमा सेवा लिन आउने नागरिकलाई छरितो सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गर्दै बिचौलियाको प्रभाव पूर्ण रूपमा अन्त्य गर्न निर्देशन दिए। कुनै पनि प्रकारको प्रलोभन वा दबाबमा परी काम गराउने प्रवृत्तिमा संलग्न व्यक्ति तथा समूहलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने उनले स्पष्ट पारे। साथै, प्रत्येक प्रहरी कार्यालयमा नागरिक सहजकर्ता राखी सेवाग्राहीलाई सरल र सहज सेवा दिनुका साथै सेवाको प्रगति विवरण एसएमएसमार्फत जानकारी गराउने व्यवस्था गर्नुपर्ने बताए।
प्रहरी महानिरीक्षक कार्कीले ‘शून्य सहनशीलता’को नीति अपनाउँदै पारदर्शी, निष्पक्ष र जिम्मेवार सेवा प्रवाहमा सबै प्रहरी कर्मचारी प्रतिबद्ध हुनुपर्ने धारणा व्यक्त गरे। उनले अपराध अनुसन्धानलाई तथ्यमा आधारित, वैज्ञानिक र पारदर्शी बनाउन निर्देशन दिँदै सीमा क्षेत्रमा हुने अपराध, तस्करी, गुण्डागर्दी तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा कडाइ गर्न जोड दिए।
त्यस्तै, उनले सबै प्रहरी कर्मचारीलाई अनुशासन, इमानदारी र व्यावसायिकता कायम राख्दै आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन दिए। आपराधिक घटना हुन नदिन पूर्वयोजना बनाएर सुरक्षा व्यवस्था मजबुत बनाउन, सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायसँग सहकार्य गर्न र जनचेतना अभिवृद्धि गर्न पनि उनले आग्रह गरे।
सम्भावित विपद्का घटनामा सतर्क रहनुपर्ने बताउँदै उनले पूर्वतयारी र नियमित अभ्यासलाई प्राथमिकता दिन निर्देशन दिए। विपद्को समयमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी उद्धार कार्य प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ। साथै, भीड नियन्त्रणमा विगतका कमजोरी सुधार गर्दै आवश्यक तालिम र अभ्यास गर्न तथा जिम्मेवारी निर्वाहका क्रममा सामाजिक सञ्जाल प्रयोगमा पनि सचेत रहन उनले सुझाव दिए।
कार्यक्रममा अपराध अनुसन्धान विभाग प्रमुख अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर तथा कार्य विभाग प्रमुख अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीले समेत समसामयिक विषयमा निर्देशन दिएका थिए। कार्यक्रममा विभिन्न प्रदेश, जिल्ला तथा मातहत इकाइका प्रहरी प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल सहभागिता रहेको थियो।



कागजपत्र |
