राजदूत पाण्डेले चिनियाँ राष्ट्रपतिसमक्ष बुझाए ओहदाको प्रमाणपत्र


बेइजिङ- चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले कार्यभार सम्हालेको ९ महिनापछि बुधबार चिनियाँ राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन्। बेइजिङको थ्यानमनस्थित ग्रेट हल अफ द पिपुल्समा आयोजित एक समारोहका बीच पाण्डेले राष्ट्रपति सी चिनफिङसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।

प्रमाणपत्र पेस गरेपछि संक्षिप्त कुराकानी गर्दै राष्ट्रपति सीले समकक्षी विद्यादेवी भण्डारीप्रति शुभेच्छा प्रकट गरेका थिए । राजदूत पाण्डेले राष्ट्रपतिको शुभकामना सन्देश सुनाएपछि सीले जवाफमा भने, ‘मेरो शुभेच्छा पनि राष्ट्रपति भण्डारीसमक्ष पुर्‍याइदिनुहोला।’

चीनमा सामान्यतया वर्षको ३ पटक विभिन्न देशका राजदूतहरूले ओहदाको प्रमाणपत्र बुझाउने प्रचलन छ। कोभिड९१९ का कारण यसपटक एक वर्षदेखिका राजदूतहरू ओहदाको प्रमाणपत्र बुझाउने प्रतीक्षामा थिए। राजदूतहरूको संख्या धेरै भएकाले बोल्नका लागि निकै छोटो समय छुट्याइएको राजदूत पाण्डेले बताए ।

एकैदिन ३१ जना राजदूतहरूको ओहदाको प्रमाणपत्र बुझेपछि राष्ट्रपति सीले सामूहिक सम्बोधन गर्दै चीनले कोभिड महामारी नियन्त्रणमा सफलता हासिल गरेको बताए। उनले विकासोन्मुख मुलुकलाई अझ ठूलो सहयोग गर्ने र महामार विरुद्ध विश्व नै मिलेर सामना गर्नुपर्ने बताए।

प्रतिक्रिया