

कोरोनाको दोस्रो लहर: संक्रमितमध्ये १० प्रतिशत बढि बालबालिका, जटिल अवस्था आउन सक्ने संकेत

काठमाडौं – नेपालमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरसका कारण अस्पताल भर्ना हुने सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका रहेका छन् । गएको २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ५२ जना १७ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै मङ्गलवार ४८ जना १९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्याङ्कले नेपालमा कोरोना जोखिम अत्यन्तै संवेदनशील अवस्थामा पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले बताए ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डाक्टर पौडेलले कम उमेरमा सङ्क्रमण पुष्टि र अस्पताल भर्ना हुने दर दुवै बढेकोले स्वास्थ्य प्रणालीले धान्नै नसक्ने अवस्थामा आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले अस्पताल भर्ना हुनेहरूमा ५० प्रतिशतभन्दा धेरै ५० वर्षमुनिका रहेका भन्दै यसअघिको अवस्था भन्दा फरक रहेको र बढी जटिल अवस्थाको सङ्केत रहेको बताए ।
नेपालमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरस बेलायत र भारतमा देखिएका नयाँ ‘भेरिएन्टु’ पनि रहेको भदै निर्देशक पौडेलले यी भेरिएन्टहरूको सङ्क्रमण र मृत्युदर दुवै उच्च रहेको बताए । नयाँ भेरिएन्टले कम उमेर समूहकालाई समेत गम्भीर अवस्थामा पुर्याउने भएकोले बच्नका लागि थप सावधानी अपनाउनुपर्ने उनले बताए ।
विभिन्न अस्पतालहरुले समेत विरामीभई अस्पताल भर्ना हुनेमध्ये १० देखि १८ प्रतिशत सङ्क्रमित बालबालिका रहेको भन्दै यसले चिन्तित बनाएको बताउछन् ।

